— संघीय संसद् र प्रदेश सभाका पदाधिकारहरूले कानुन निर्माण र कार्यान्वयनका विषयमा छलफल गरेका छन् । शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको बैठकमा संविधानको पूर्ण कार्यान्वयन गर्न निर्माण भएका कानुनको कार्यान्वयन गर्ने तथा जनभावनाअनुसार कानुन निर्माणमा तीव्रता दिने विषयमा छलफल भएको छ ।
छलफलमा कानुन निर्माण तथा कार्यान्वयनको अवस्था, अन्तरिम सरकारले संसद्का पदाधिकारीको सेवा कटौती गरेको लगायतका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए । छलफलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवहरू लगायत सहभागी थिए ।
सभामुख मगरले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आवश्यकताअनुसार प्रदेश सभाको तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा जेन–जी आन्दोलनका क्रममा प्रदेश सभाका कार्यालयमा पुगेको क्षतिको व्यवस्थापन र पुनःनिर्माणको विषयबारे समेत विमर्श भएको उनले जानकारी दिए । ‘व्यवस्थापिका संसद् र प्रदेश सभाले बनाएका कानुनहरूको कार्यान्वयन गर्ने, संविधानको पालना गर्ने र अहिले सरकारलाई प्रदेश सभाको तर्फबाट सहयोग गर्ने, जनताको भावनाअनुसार अघि बढ्ने तर बनाइएका कानुन निष्प्रभावि नहुने गरी अघि बढ्ने कुरामा छलफल भयो,’ उनले भने ।
वागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर विचाराधीन विधेयक अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिइन् । ‘सबै प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले अगाडि लैजाने र जेन-जी आन्दोलनले प्रदेश सभाका कार्यालयमा पुर्याएको क्षतिको विषयमा छलफल भयो । प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर विधेयकहरूलाई अगाडि बढाउने र प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसँग निरन्तर छलफल गर्ने विषयमा छलफल भयो,’ चापागाईंले भनिन् ।
प्रदेश सभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी व्यवस्था प्रदेश कानुनमै रहेको भन्दै सभाका पदाधिकारीले बैठकमा कानुनअनुसार अघि बढ्न सरकारको ध्यानाकर्षण गर्ने विषय राखेका थिए ।
सरकारले संसद्लाई लिएर गरेका निर्णयबारे सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालसहित सात वटै प्रदेशका प्रदेश सभाका सभामुख तथा उपसभामुखले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने भएका छन् । सभामुख घिमिरेले राष्ट्रपतिलाई भेट्नका लागि समय लिइसकेको र राष्ट्रपतिसँगको छलफलपछि आवश्यक परे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्ने बताएका थिए । उनले भने, ‘खासगरीकन देशको सातवटै प्रदेशको र संघको बारेमा सभाको स्थितिका बारेमा भेटघाट गरेका हौँ । राष्ट्रपतिसँग समय लिएका छौँ । उहाँसँग भेट्नेछौँ । सरसल्लाहमा प्रधानमन्त्रीसँग भेट्ने कुरा भयो भने भेट्न सक्छौँ । भोलिका लागि समय मिलाउँ । प्रधानमन्त्रीलाई पनि भेट्दा राम्रै हुन्छ ।’