— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टकटक्याएर सवारीचालक अनुमति (लाइसेन्स) छपाइ सुरु गरिएको बताएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर औपचारिक रूपमा छपाइको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले भने, ‘वर्षौँदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणहरूको धुलो टकटक्याएर छपाइ सुरु गरिएको छ,’ उनले भने, ‘२३५ रोपनी क्षेत्रफलमा रहेको सुरक्षण मुद्रण केन्द्रमा हालसम्म ३ करिब ३ अर्ब लगानी भइसकेको रहेछ, वर्षौँदेखि सुरक्षण मुद्रण केन्द्रका मेसिनहरू यत्तिकै फालिदिएजस्तो अवस्थामा थिए, पार्टपुर्जामा धुलो जमेको थियो, हामीले धुलो टकटक्याएर छपाइ सुरु गरेका हौँ ।’
उनका अनुसार, अहिले लाइसेन्स छपाइको काम सुरु गरिएको छ । केन्द्रका मेसिन सञ्चालनमा आएपछि राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने उनले बताए । यसबाट छपाइका लागि विदेशीप्रति निर्भरता घट्ने उनको भनाइ थियो ।
‘लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो,’ उनले भने, ‘सञ्चारमन्त्री खरेलले भने, ‘पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत समस्या, बेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाइसेन्स छपाई सुरु गरिएको छ ।’
उनका अनुसार, सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको बेथिति, कानुनी अप्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्स छपाई सुरु गरिएको हो । अब क्रमशः अन्य विभिन्न छपाई पनि केन्द्रबाटै छापिने र यसलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।
विभिन्न समयदेखि सुरक्षण मुद्रण केन्द्र विवादित विषय बनेको र अब यहाँबाट हुने काम विवादरहितका साथै पारदर्शी काम गर्न उनले निर्देशन दिएका छन् । जनतालाई सुशासनको प्रत्याभूति दिलाउने आफू प्रयासरत रहेको उनको भनाइ थियो ।
कार्यक्रममा यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीका अनुसार, देशभरबाट २८ लाख ड्राइभिङ लाइसेन्स छपाइको माग रहेको छ । विभागबाट लाइसेन्स छपाइको लागि सुरक्षा मुद्रण केन्द्रलाई आवश्यक डेटा उपलब्ध गराउने उनले बताए । सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार पहिलो चरणमा दैनिक करिब पाँच सय प्रति लाइसेन्स छापिनेछ ।
पहिलो चरणमा १२ लाख सवारीचालक अनुमति पत्र छाप्ने लक्ष्य राखिएको उनले बताए । ६ महिनाभित्र सर्वसाधारणलाई सवारीचालक अनुमति पत्र प्रदान गरिएको उनले जानकारी दिए । यसका लागि यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउनेछ ।