— अहिले मुलुक अप्ठेरो अवस्थामा रहेपनि देशलाई थप बिग्रिने छुट नभएकाले सुशासन, नीतिगत सुधार र सहकार्यमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री सुशीला कार्कीले बताए ।
‘यी चुनौतीहरू सामना गर्न हामीले स्पष्ट कार्यदिशा लिएका छौं । हामीलाई समृद्धिको अर्थात् सबै क्षेत्रको सामूहिक वृद्धिका लागि सप्रने बाहेक अझै बिग्रने छुट छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी विगतलाई टेकेर अगाडि बढ्नेछौँ, तर विगतमा फर्कँन सक्दैनौं । सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त हो ।’
राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी संकष्टपूर्ण प्रणालीप्रति हामी सजग रहेको उनले बताइन् । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन। सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको उनको भनाइ छ ।
‘तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन् । उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसंख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन्,’ उनले भनिन्, 'तसर्थ, उद्योग व्यवसाय बिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन ।’