: सुनसरी प्रहरीले ठूलो परिमाणको गाँजासहित एक स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेका अनुसार शुक्रबार राति बर्जु गाउँपालिका–५, गोचाकामत टोलस्थित भित्री सडक खण्डमा इटहरीतर्फ आउँदै गरेको स्कार्पियो गाडीलाई इप्रका दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो।
कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा उक्त स्कार्पियोभित्र ११ वटा पोका गाँजा बरामद गरिएको छ। बरामद गरिएको गाँजाको तौल भने नापतौल कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिएर चालकको पहिचान र खोजी कार्य अघि बढाएको छ। एसपी थेबेले गाडीमा ठूलो मात्रामा गाँजा लोड गरी ओसारपसार गरिएको पुष्टि गर्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गाँजा धनकुटाबाट ल्याइएको हुन सक्ने आशंका गरिएको छ।
धनकुटा क्षेत्रका केही गाँजा तस्करले स्थानीय प्रहरीसँगको मिलेमतोमा आफ्नो इलाकाबाट गाँजा बाहिर पठाउने गरेका छन्। प्रहरीले बरामद गाँजाको स्रोत, कारोबारी र संलग्न सञ्जालबारे अनुसन्धान सुरु गरेको छ। पछिल्ला वर्षहरूमा धनकुटा, भोजपुर, तेह्रथुम लगायतका पहाडी जिल्लामा उत्पादन भएको गाँजा सुनसरी र मोरङ हुँदै भारतीय सीमातर्फ तस्करी गर्ने क्रम बढेको छ।
यस घटनाले कोशी प्रदेशमा बढ्दो गाँजा ओसारपसार नियन्त्रणमा प्रहरीले थप निगरानी बढाउने आवश्यकता देखाएको छ। बरामद गाँजा र स्कार्पियो गाडी दुहबी इलाका प्रहरी कार्यालयमा राखिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।