: उपत्यका ट्राफिक प्रहरी महाशाखामा रहेको पार्किङ एरिया यतिखेर भरिभराउ छ। मोटरसाइकल स्कुटरको स्वरूप परिवर्तन गरेर चलाएका, चर्को आवाज निकाल्नका लागि साइलेन्सर परिवर्तन गराएका तथा, विभिन्न अस्वाभाविक लाइट राखेर चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको छ। सिट उठाएर अग्लो बनाउने, सक्कली साइलेन्सर निकालेर चर्को आवाज दिने साइलेन्सर राख्ने जस्ता सवारीसाधन यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसुरमा कारबाही गर्न नियन्त्रणमा लिइएको हो।
यही भिडमा केही सवारीचालकहरू ग्यारेजका मिस्त्री नै ल्याएर आफूले बिगारेको स्वरूप पुरानै अवस्थामा फर्काउदै थिए। कोही लाइट उप्काउँदै थिए त कोही सिट निकाल्दै थिए, कोही भने ह्यान्डल र आवाज दिने स्पिकर हटाउँदै थिए। अधिकांश युवा उमेरमा मोटरसाइकल चालकहरू अभिभावकसगै ट्राफिक महाशाखा पुगेको देखिन्थ्यो।
उपत्यका ट्राफिक महासाखाका प्रमुख नवराज अधिकारीको कक्षमा प्राय : मानिसहरूको भिडभाड थियो। आफ्ना छोराछोरीले चलाएको मोटरसाइकल ट्राफिक कारबाहीमा परेपछि उनीहरू छुटाउनका लागि कायालय प्रमुखको कक्ष धाइरहेका थिए। कोही भने फोनबाटै प्रलोभन दिइरहेका थिए।
स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्दै सवारी नियम उल्लंघन गर्ने चालकमाथि ट्राफिक प्रहरीले कडाइ गरेको छ। गत असोज ३० देखि ट्राफिक महाशाखाले यो अभियान सुरु गरेको हो। चितवनलगायत केही जिल्लामा पनि मोडिफाइ गरेको सवारीसाधनविरुद्ध अभियान नै सुरु भएको छ। अभियान सुरु गरेको १८ दिनमा ६ सय ६७ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। यस्तै, ३७ वटा चारपांग्रे सवारीसाधन पनि कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहोर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको हो।। सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही गरिनेछ। वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको उनले बताए।
कार्यालय प्रमुख नवराज अधिकारी भन्छन्, सडकमा सामान्य मानिस हिँडिसक्नु छैन, जहाँ भिडभाड छ, चर्को आवाजमा हर्न बजाएर, आतंकित पार्ने काम भइरहेको छ। विशेषत १८ देखि ३५ वर्षका युवाहरूले सिट अग्लो बनाउने, ह्यान्डल बांगो बनाउने, अत्यधिक धुवाँ फाल्ने, भुत लाइट भन्दै कलरफुल लाइट जडान गर्ने अनेक किसिमका कार्य गरिरहेका छन्।
अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ। त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन पाइन्छ। वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन्। यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउछ।
सवारी चलाउनु आवश्यकतासँगै निकै जोखिमपूर्ण कार्य पनि हो। सवारी दुर्घटनाकै कारण वर्षमा हजारौं व्यक्तिको ज्यान जान्छ। हजारौंको संख्यामा घाइते हुन्छन्। सचेत भएर नियम संगत चलाउन आवश्यक भएको कार्यालय प्रमुख अधिकारीको प्रस्टोक्ति थियो।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको छ। मोडिफाइ गरेको सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको ट्राफिक प्रवक्ता सुवेदीले बताए।
कार्यालय प्रमुख नवराज अधिकारी भन्छन्, ‘यातायात व्यवस्था ऐन, २०४९ अनुसार नियन्त्रणमा लिएका सवारीसाधनको अनुसन्धान हुन्छ। सजाय स्वरूप ८ हजार देखि २५ हजारसम्म जरिवाना लाग्ने ऐनमा व्यवस्था गरिएको छ। ट्राफिक कार्यालयले नियन्त्रणमा लिएको सवारीसाधनको कागजात यातायात कार्यालयमा पठाउने र मोडिफाइ गरिएका पार्टहरू पुन : दुरुस्तै गरेर मात्रै सवारीधनीलाई बुझाउने गरेको छ। यसका लाग्ने खर्च र प्राविधिक व्यक्ति सवारी धनीले नै व्यवस्था गर्नुपर्ने हुन्छ।