— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतबाट नेपाल फर्किँदै गर्दा भारतीय अध्यागमनका अधिकारीहरुले ४० मिनेट केरकार गरेर छोडिदिएका छन् ।
गत सोमबार भारत गएर शुक्रबार साँझ काठमाडौं फर्कन लागेका उनलाई सुरक्षा जाँचका लागि भन्दै दिल्ली विमानस्थलमा केहीबेर रोकिएको हो । उनको फ्लाईट, उनलाई रोक्नुको कारणबारे दिल्लीस्थित नेपाली दूतावास र भारतका अध्यागमनका अधिकारीबीच छलफल समेत भएको थियो ।
'प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको रहेछ,' दिल्लीस्थित दूतावासका एक अधिकारीले भने, 'उनी भारत आएको जानकारी पाएपछि थप निगरानी बढाइएको थियो ।'
नेपाल एयरलाइन्सको आर ए– २१८ विमानबाट नेपाल फर्किन लागेका उनलाई अध्यागमनमा अधिकारीले ४० मिनेट रोकेका थिए ।
दिल्लीस्थित नेपाल एयरलाइन्स स्रोतका अनुसार, प्रसाईं दिल्लीबाट नेपाल एयरलाइन्सको उडान नम्बर आर ए–२१८ मार्फत शुक्रबार साँझ काठमाडौं फर्किएका छन्। उक्त उडानमा प्रसाईंका लागि टिकट पहिले नै बुक गरिएको थियो।
स्रोतका अनुसार,नेपाल एयरलाइन्सको यो न्यारोबडी जहाज दिल्ली समय अनुसार शुक्रबार बिहान ९ बजे उडेको थियो। नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडानको नियमित तालिका अनुसार विमान ४:४० बजे काठमाडौं अवतरण गर्ने समय तोकिएको थियो। जहाज बिहीबार मर्मतका लागि दिल्लीमै ग्राउन्डेड गरिएकाले ढिलाइ भएको जनाइएको छ । एआएईएसएल मर्मतशाला (एमआरओ) मा यो विमानको ब्रेक फ्यान गरिएको थियो । यो पहिल्यै तय भएको कार्यक्रम थियो ।
आजको उडान समयमै सम्पन्न भएको एयरलाइन्स स्रोतले जनाएको छ।
प्रसाईंले दिल्लीको अध्यागमनमा केरकार हुँदा भारतीय नेतालाई हिन्दी भाषामा फोन गरेको त्यहाँ रहेको स्रोतको भनाइ छ ।
उक्त स्रोतका अनुसार,प्रसाईं केही दिनअघि पनि यही नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट दिल्ली गएका थिए। बोर्डिङ गेटमा भने उनले कुनै औपचारिक वा अनौपचारिक कुराकानी निगमका कर्मचारीसँग गरेनन् । उनको सिट इकोनमी क्लासमा थियो ।
*यसअघि अध्यागमनले रोक्दा प्रसाईंको जहाज छुटेको र अर्को जहाजमा आएको जस्ता अलमल भएकोमा सच्याएर उनी ४० मिनेटको केरकारपछि सोही विमानमा आएकाले सच्याइएको छ ।–सम्पादक