— नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले बुद्ध जन्मस्थल लुम्बिनीको शुक्रबार अवलोकन भ्रमण गरेकी छन् ।
उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, पुष्करणी पोखरी, पुरातात्त्विक भग्नावशेष र अशोक स्तम्भको अवलोकन गरेकी थिइन् । त्यस्तै, उनले थेरवादी संप्रदायको राजकीय थाई विहार र महायानी संप्रदायको थाउजन्ड बुद्ध टेम्पलको पनि अवलोकन गरिन् । त्यसैगरी उनले लुम्बिनी संग्रहालयको पनि अवलोकन गरिन् ।
राजदूतलाई लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राईले स्वागत गरेका थिए । त्यसपछि राईले राजदूतलाई लुम्बिनी विकास गुरुयोजना, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व र संरक्षणका प्रयासबारे जानकारी दिएका थिए ।
राजदूत कोर्तेवालले आफूलाई धर्म–दर्शन मन पर्ने र शान्ति खोज्नेका लागि लुम्बिनी विश्वकै उत्कृष्ट स्थल रहेको बताइन् । ‘सबै मिलेर यस्तो ठाउँको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ,’ उनले भनिन् ।
राजदूतसँगै फ्रान्सेली दूतावासकी डेप्युटी चीफ अफ मिसन सुश्री एल्सा क्याली र नेपालस्थित फ्रान्सेली भाषा तथा सांस्कृतिक केन्द्र (एलायन्स फ्राँसेज) का निर्देशक सिल्भेन छोएनले पनि अवलोकन भ्रमण गरेका थिए ।
त्यस्तै, राजदूतसहितको टोलीले शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) को पनि अवलोकन भ्रमण गरेको थियो । राजदूत आजै राजधानी फर्किएकी छन् ।