: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० दलको एकताप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। जेन-जी विद्रोहलाई गहन विश्लेषण गरेर नयाँ विचार, नीति, कार्यक्रम, संगठन निर्माण गर्नुपर्नेमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ दल गठन भएको भन्दै व्यङ्ग्य गरेका हुन्।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै भनेका छन्, ‘हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरुहरू अझै नेतृत्वमै हुनुहुन्छ। अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो।’
तत्कालीन समयमा प्रचण्ड नेकपा मसालका महामन्त्री थिए। जनयुद्धको विषयलाई लिएर २०५१ सालमा नारायणकाजी श्रेष्ठसँग मतभेद हुँदा पार्टी विभाजन भएर माओवादी बनेको थियो।
उनले नयाँ पुस्तालाई यथार्थपरक वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गरे। उनले वामपन्थी दलहरूबीचको नाम र प्रतीकका विवादलाई निरर्थक शब्दजालको रूपमा चित्रित गर्दै यस्तो विवादले देशका वास्तविक समस्या बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्र समाधान गर्न नसक्ने टिप्पणी गरे। ‘लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई 'वे' कार नभनून्!’ भट्टराईले भनेका छन्, ‘अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति (डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?कणहरूको जो मर्जी!’
बुधबार काठमाडौंको भृकुटीमण्डपमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वामपन्थी दल एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएको हो। दलको चुनाव चिन्ह ‘पाँच कुने तारा’ छ।
‘एकता महाधिवेशन’ ले पार्टी संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ।