— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ रुपैयाँ क्षति पुगेको उल्लेख छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार क्षतिबारे सम्बन्धित क्षेत्रका प्राविधिकमार्फत मुल्यांकन गराइएको थियो । अख्तियारले तोडफोड र आगजनी तथा लुटपाटमा संलग्नलाई अनुसन्धान गरी संलग्नलाई कामरबाहीको माग गर्दै १८ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइसकेको छ ।
भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियार परिसर छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट गरेर त्यसपछि तोडफोड र आगजनी गरेको थियो । करिब ३ घण्टा अख्तियारमा देखिएको उक्त समूह साँझ ७६ बजेपछि बाहिरिएको थियो ।
अख्तियारमा प्रहरीमा दिएको जाहेरीअनुसार त्यस दिन दक्षिण तर्फको पार्किङ पूर्वाधारमा आगजनीबाट ३० लाख, भवनका झ्याल/ढोका, सिसा/टेबुल तोडफोड आगजनीबाट १५ लाख, भवनका ढोका, चुकुल, ताल्चा सेट र मेसिनमा १० लाख, अख्तियारको प्रशासन महाशाखाको भुई, दराज, फोटोकपी मेसिनलगायतमा १० लाख, सोलारमा तोडफोड/आगजनीबाट ४५ लाख गरी भवनतर्फ कूल क्षति १ करोड १० लाख भएको अख्तियारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यस्तै सबारी तर्फ ४ पांग्रे ३२ वटा र दुईपांग्रे (मोटरसाइकल/स्कुटर) ५८ गरी ९० सबारी साधन तोडफोड र आगजनीमा २० करोड ३३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
जसमा बस दुई वटा, कार/जीप ५ वटा, पिकअप, जीप/कारसहितका २५ वटा र बाँकी मोटरसाइकलमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो । त्यस्तै उपकरणहरु चोरी, लुटपाट र तोडफोड/आगजनीबाट २ करोड ६१ लाख ८६ हजार २ सय १ रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
अख्तियारका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ । १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन् । इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्याइएको छ । केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको छ । टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको छ ।
अख्तियारकै इटहरी कार्यालयमा रहेका ४ वटा गाडी र ६ वटा मोटरसाइकलमा पूर्ण क्षति तथा एउटा गाडी र २ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । हेटौंडामा ४ वटा गाडी र ८ वटा मोटरसाइकल, पोखरामा २ वटा गाडी र ६ वटा मोटसाइकलमा क्षति पुगेको छ । अख्तियारको बुटवल कार्यालयका ३ वटा गाडी जलाइएका छन् । बुटवलकै एउटा गाडी र २ वटा मोटरसाइकल तोडफोड गरिएको छ । कञ्चनपुर कार्यालयमा ४ वटा मोटरसाइकल तोडफोड गरिएको छ ।
प्रवक्ता पौडेलका अनुसार टंगालमा भएको क्षतिबारे यतैबाट प्रहरीमा जाहेरी दिइएको र अन्य कार्यालयको हकमा सम्वन्धित कार्यालयबाटै क्षतिको मूल्यांकन गरी नजिकैको प्रहरी कार्यालयमा जाहेरी दिन भनिएको छ ।