— भदौ २४ को प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट हुँदा गण्डकी प्रदेशमा ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रतर्फ ३ अर्ब र सरकारीतर्फ २ अर्ब रुपैयाँ क्षति भएको विवरण मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबारको प्रदेश सभा बैठकमा जानकारी गराए ।
कास्की, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जाका १ सय ३८ सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति पुगेको छ ।
प्रदेशभित्र ३ सय ६१ वटा दुईपांग्रे सवारी साधनमा आगजनी, ७ वटामा तोडफोड, १ सय ६१ वटा चारपांग्रे सवारी साधनमा आगजनी र ३१ वटामा तोडफोड भएको उनले बताए । कास्कीमा सबैभन्दा धेरै ३ सय ९ वटा दुईपांग्रे, १ सय ४५ वटा चारपांग्रे, तनहुँमा ३३ वटा दुईपांग्रे, १४ वटा चारपांग्रे, नवलपुरमा १९ वटा र दुई वटा चारपांग्रे सवारीमा क्षति भएको छ ।
प्रदेश सरकारको चालु वर्षको बजेट आइसकेकाले पुनर्निर्माणका लागि स्रोत जुटाउन केही समस्या भएको मुख्यमन्त्री पाण्डेले सुनाए । नगरी नहुने चालु कार्यक्रमबाहेक अन्य खर्च कटौती गरेर पुनःर्निर्माणको स्रोत जुटाउने नीतिगत निर्णय कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए । आगजनीबाट क्षति भएर पुनः प्रयोग गर्न नमिल्ने सामग्रीको व्यवस्थापन, लिलामी र लगतकट्टाको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
पोखरामा पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दीर्घकालीन योजनामा आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिल्याएको उनले बताए । हजारौं रोजगारी सिर्जना गरेका, देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएका निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार सक्रिय रहने उनले सुनाए ।
आन्दोलनका क्रममा कास्कीमा ७ वटा निजी घर–संरचनामा पूर्ण र १८ वटामा आंशिक क्षति भएको छ । नवलपुरमा ६ वटा पूर्ण र २० वटा आंशिक, तनहुँमा ६ वटा आंशिक र पर्वतमा ३ वटामा आंशिक क्षति पुगेको छ ।
आन्दोलनका क्रममा प्रदेशभित्र कास्कीमा ३ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी र आन्दोलनरत पक्ष दुवैतर्फ गरेर ७० जनाभन्दा बढी घाइते भएका थिए ।