— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यरो स्थितिमा रहेको भन्दै यसबाट निकाल्नुपर्ने बताएका छन् ।
उनले एमालेले नयाँ अभियानको थालनी गरेको बताउँदै रामकुमारी झाँक्री र किसान श्रेष्ठ लगायतका साथीहरु अन्तत: भव्य रुपमा पार्टीको आफ्नै घरमा फर्किएको बताएका छन् । उनले नेकपा एमाले सानो चित्त र साँघुरो दिल भएको छ भनेर हल्ला चलाइएको बताउँदै सबैभन्दा धेरै जनताले भोट दिएको पार्टी भएको बताउँदै पार्टीभित्र फराकिलोसँग बस्न सकिने अवस्था भएको बताए ।
उनले गाउँखाने कथा भन्दै माओवादीमा गएका नेकपा समाजवादीका नेताहरुतर्फ लक्षित गर्दै शक्ति र सामर्थ्य भएका युवाहरु एमालेमा आएको र काम गर्न नसक्ने अन्तै लागेको तर्कसमेत गरेका छन् । एमालेले आह्वान गरेपनि फकाइफुल्याइ गरेर वा आग्रह गरेर नभई उनीहरुले आफ्नो अनुभवले एमालेमा फर्किएको बताउँदै भने, 'केही पनि दिन्छु भनेको छैन । केही चाहियो भनेका पनि छैनन् । घर फर्किने भइयो भनेका छन् ।' ठूलो आश वा केही लोभ नगरी एमालेमा फर्केकाहरु गन्तव्य हेरेर आएको भन्दै त्यसलाई पार्टीले कदर गर्ने पनि उनले बताए । उनले नेपाली कम्युनिस्ट पार्टीको नाम त लिएनन् तर त्यहाँ वरियता निर्धारण गरेर केही नेता गएकोमा व्यंग्य भने कसे ।
ओलीले बंगालादेश बनाइदिन्छु भनेर केहीले संसद्मै बोलेको बताए । उनले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले बोलेको कुरा पनि कोट्याए । उनले एमाले तिरतिरे खोल्सो नभएर महासागर जस्तो संगठन भएको दाबी गर्दै एमालेमा युवाहरुको ठूलो पंक्ति भएको बताए ।
उनले भने, 'फेसबुकको युवा हैन घर–घरको युवा एमालेसँग छ । फेसबुकमा एमाले रित्तै भइसक्यो । तर एमाले रित्तो भयो भनेर लेख्नेका तल कमेन्टमा झुट भनेर लेख्नुपर्छ । त्यत्ति कमी छ एमालेमा ।' उनले लाइक र सेयर गर्नेमा एमालेबाट कमी भइरहेको बताउँदै भने त्यसमा पनि अघि बढ्नुपर्ने बताए ।