। कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ।
दूतावासले जारी गरेको सूचनामा बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड गर्ने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने, ठूलो आवाजमा कुराकानी गर्ने वा होहल्ला गर्ने कार्य नगर्न अनुरोध गरिएको छ ।
दूतावास परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको भन्ने गुनासो बारम्बार प्राप्त भएकाले यस्तो सूचना जारी गरिएको दूतावासले जनाएको छ ।
साथै, सम्पूर्ण सेवाग्राहीलाई कार्यालय समयमा मात्र सेवा लिन आउन र बिहानको ८ बजेपछि मात्र उपस्थित हुन आग्रह गरिएको छ । सेवासम्बन्धी कार्यका लागिमात्र उपस्थित भई अनावश्यक लामो समयसम्म बस्ने काम नगर्न पनि दूतावासले आग्रह गरेको छ ।