प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि वाम राजनीतिक वृत्तमा नयाँ अध्याय सुरु भएको छ ।
टुटेको कडी जोडियो
तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओली समूहसँगको सम्बन्धविच्छेदपछि प्रचण्ड नेतृत्वको पूर्वमाओवादी धार र माधवकुमार नेपाल नेतृत्वको पूर्वएमाले धार सहकार्य र एकतामै थिए । यी दुई धार एक ठाउँ हुँदा तत्कालीन नेकपाको सुविधाजनक बहुमत उनीहरूसँगै थियो । तत्कालीन प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध उनीहरू लामो समय सँगसँगै आन्दोलित भएका थिए । आफूलाई मूल र आधिकारिक नेकपा दाबी गर्दै देशव्यापी रूपमा साझा संरचनासहित अघि बढेका थिए । यो समूहका नेता–कार्यकर्ताबीच एउटै पार्टीका रूपमा राजनीतिक, सांगठानिक मात्रै नभई भावनात्मक सम्बन्धसमेत विकसित हुँदै गएको थियो ।
बहुमत आफूसँगै भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आफूहरूले आधिकारिकता पाउनुपर्ने प्रचण्ड–माधव समूहको दाबी थियो । तर, पार्टी एकता भएको अढाई वर्षपछि सर्वोच्च अदालतबाट एकता नै बदर भएको फैसला आयो, जुन उनीहरूका निम्ति बिलकुल अनपेक्षित थियो । त्यसपछि परिस्थितिले नयाँ मोड लियो । त्यतिबेलै नेपाली कम्युनिस्ट पार्टीका नाममा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेर जाने छलफल पनि नभएको होइन तर त्यसले आकार लिन सकेन । फलतः मन, विचार र भावना मिल्दामिल्दै उनीहरू हात मिलाएर छुट्टिए । पूर्ववत् रूपमा एकातिर प्रचण्ड नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ब्युँतियो भने अर्कातिर एमालेबाट विद्रोह गरी माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एस) बन्यो । अन्ततः फेरि इतिहासमा टुटेको कडी जोडियो र नयाँ स्वरूपमा अहिलेको नेकपा बन्यो ।
नेपाली विशेषताको समाजवाद
कम्युनिस्ट पार्टी स्थापना भएदेखि आजसम्मका सबै कम्युनिस्ट पार्टी र घटकहरूले आफ्नो नामको पहिलो अक्षर ‘नेपाल’ का ठाउँमा यस पटक ‘नेपाली’ शब्द राखेका छन् । यसबाट ‘यो नेपालभित्र रहेको मात्र नभई नेपालीपन र विशेषतायुक्त कम्युनिस्ट पार्टी हो’ भन्ने सन्देश दिन खोजेको देखिन्छ । अन्तर्राष्ट्रिय प्रचलनमा हेर्दासमेत चीनमा ‘चिनियाँ कम्युनिस्ट पार्टी’ र भारतमा ‘भारतीय कम्युनिस्ट पार्टी’ नाम रहेको देखिन्छ । नाम मात्रै नभई नवगठित नेकपाले आफ्नो राजनीतिक कार्यक्रमसमेत ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ भनेर निर्दिष्ट गरेको छ । अब नेकपाले नेपाली विशेषताको समाजवादको राजनीतिक, आर्थिक, सामाजिक, दार्शनिक आधार र विशेषताहरूको विषयमा स्पष्ट पार्नुपर्छ ।
माओवाद–जबज बहस निरूपण
नवगठित नेकपाले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद र लेनिनवादलाई निर्दिष्ट गरेको छ । यो घोषणासँगै सैद्धान्तिक रूपमा दुई वटा विषय चर्चामा छन् । एकातिर पूर्वमाओवादी वृत्तमा ‘माओवाद’ त्याग गरेको र अर्कातिर पूर्वएकीकृत समाजवादी वृत्तमा ‘जनताको बहुदलीय जनवाद’ त्याग गरेको प्रश्न कतिपयले उठाएका छन् । तर, स्पष्ट हुनुपर्ने विषय के छ भने यो दुवै धारले पूर्ववत् कार्यक्रम त्याग नगरी नयाँ चरणमा प्रवेश गरेका हुन् । खासगरी माओत्सेतुङका पालामा अर्धऔपनिवेशिक तथा अर्धसामन्तवादी अवस्थामा रहेका मुलुकमा समाजवादमा जानुपूर्व सम्पन्न गरिने क्रान्तिको चरणलाई ‘नयाँ जनवादी क्रान्ति’ का रूपमा परिभाषित गरिएको थियो । नेपाली सन्दर्भमा पनि माओवादी ‘जनयुद्ध’ दौरान त्यही चरणको क्रान्तिलाई मुख्यतः ‘माओवाद’ का रूपमा संश्लेषण गरिएको थियो । पछिल्लो कालखण्डमा संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीसँगै उक्त चरणको क्रान्ति मूलभूत रूपमा पूरा भएको ठहर भएपछि स्वाभाविक रूपमा समाजवादी चरणको कार्यक्रम अघि बढेको हो ।
त्यसैगरी तत्कालीन एमाले हुँदै एकीकृत समाजवादीले वकालत गर्दै आएको जनताको बहुदलीय जनवादको सन्दर्भमा पनि कुरा त्यही नै हो । जननेता मदन भण्डारीले उही अर्धऔपनिवेशिक तथा अर्धसामन्तवादी अवस्थामा रहेका मुलुकमा सम्पन्न गरिने क्रान्तिको चरणलाई नै जनताको बहुदलीय जनवाद भनेका थिए । ‘जनयुद्ध’ र जनआन्दोलनको समायोजनमा भएको ०६२/६३ को जनक्रान्तिसँगै उक्त चरणको क्रान्ति सम्पन्न भइसकेको छ । यस अर्थमा जबज छाडेको नभई त्योभन्दा नयाँ समाजवादी चरणमा प्रवेश गरेको भनेर बुझ्नु नै सही हुन्छ । यदि मदन भण्डारी नै जीवित भएको भए स्वयं उनले पनि यति बेला जनताको बहुदलीय समाजवाद भन्ने थिए । कतिपयले माधव नेपालहरूले जबज छाडेको भनेर टिप्पणी गरेको पनि सुनिन्छ । स्वयं केपी ओलीले नै तत्कालीन नेकपा निर्माणताका जबज परित्याग गरिसकेको हुनाले यो टिप्पणी उस्तो युक्तिसंगत देखिँदैन । यस अर्थमा अहिले जबजबाट नयाँ समाजवादी चरणमा प्रवेश गरेको भनेर बुझ्नु नै सही हुन्छ ।
नेकपाका भावी चुनौती
निश्चय नै नेकपासामु अवसरका आभा मात्रै देखिएका छैनन्, चुनौतीका चाङहरू पनि त्यत्तिकै छन् । अहिलेको नेकपामा मुख्य रूपमा ‘जनयुद्ध’ र जनआन्दोलनबाट विकसित नेता/कार्यकर्ताको विशाल पंक्ति छ । स्वाभाविक रूपमा स्कुलिङ फरक हुने नै भयो । एकातिर सशस्त्र ‘जनयुद्ध’ मा जीवन गुमाएका सहिद तथा बेपत्ता योद्धाको त्याग र बलिदानलाई सम्मान गर्नुपर्ने छ भने अर्कातर्फ शान्तिपूर्ण जनआन्दोलनमा सिंगो जीवन अर्पण गरेका योद्धाहरूको रगत, आँसु र पसिनाको कदर गर्नुपर्नेछ । ‘जनयुद्ध’ र जनआन्दोलनको समायोजनबाटै ०६२/६३ को जनक्रान्तिले दिग्विजय हासिल गरेको तथ्यलाई बिनाहिचकिचाहट सबैले सहजतापूर्वक स्वीकार गर्नुपर्छ ।
विगतमा नेकपा विभाजनबाट सिक्नुपर्ने पाठहरू पनि थुप्रै छन् । एकताका सन्दर्भमा मोटामोटी सैद्धान्तिक प्रश्नहरूको निरूपण भइसके पनि सांगठानिक समस्याहरू हल हुन बाँकी नै छन् । यस सन्दर्भमा एकातिर एकताको मनोविज्ञान र भाव समेट्नु अनिवार्य छ भने अर्कातिर चुस्त र कामकाजी कमिटीहरू निर्माण गर्न जरुरी छ । विगतमा नेकपा विभाजनबाट सिक्नुपर्ने पाठहरू पनि थुप्रै छन् । एकताको संक्रमणकालीन समयमा ठूला कमिटी हुनु स्वाभाविकै छ । तर, अनन्तकालसम्म भीमकाय आकारका कमिटी रहिरहने, व्यावहारिक हिसाबले जनवादी छलफल हुन नपाउने र अन्ततः नेतृत्वका सीमित मानिसले मात्रै निर्णय थोपर्ने अवस्थालाई अन्त्य गर्नुपर्छ । यसका लागि अविलम्ब सबै तहका कमिटीहरूको महाधिवेशन–सम्मेलन गर्नुपर्छ ।
नयाँ बनेको नेकपाले जेन–जी विद्रोहमा उठेका जायज माग सम्बोधन गर्न तयार हुनुपर्छ । सुशासनको सुनिश्चितता, सेवा प्रवाहमा सरलता, अस्थिरताको अन्त्य, भ्रष्टाचारको निवारण, सामाजिक न्याय र जनजीविकाको प्रत्याभूतिलाई केन्द्रबिन्दुमा राख्नुपर्छ ।
युवाहरूलाई भविष्यका कर्णधार हुन् भनेर सधैं अलमल्याउने गल्ती कमसेकम अब गर्नु हुँदैन, उनीहरूलाई अनिवार्य रूपमा वर्तमानका साझेदार बनाइनुपर्छ । त्यसका लागि हरेक तहका पार्टी कमिटीमा तिनमा एक (थ्री इन वान) प्रणाली अनिवार्य अवलम्बन गरिनुपर्छ । अघिल्लो पुस्ताको विचार, अनुभव र मार्गदर्शनमा नयाँ पुस्तालाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्मै सहभागी गराउन अब विलम्ब गरिनु हुँदैन । यसका निम्ति नेतृत्व विकास, हस्तान्तरण र पुस्तान्तरणको वैज्ञानिक विधि तय गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।
बृहत् वाम एकता खोजी
विभिन्न दस वाम पार्टीको एकतासँगै नेपाली कम्युनिस्ट आन्दोलनमा एकता र ध्रुवीकरणको नयाँ बहस फेरि सुरु भएको छ । विगतमा आन्दोलनको स्वरूपदेखि नेपाली क्रान्तिको कार्यक्रमसम्मका सन्दर्भमा कैयौं सैद्धान्तिक मतभिन्नता अवश्य थिए । तर, वर्तमान र भविष्यको विश्लेषण र संश्लेषणका सन्दर्भमा सैद्धान्तिक हिसाबले अब धेरै दूरी र भिन्नता बाँकी देखिँदैन ।
यति बेला हामी इतिहासको निकै गम्भीर र संगीन मोडमा छौं । ६ दशक लामो जनसंघर्ष र हजारौंको बलिदानबाट आर्जित उपलब्धि रक्षाको प्रश्न निकै पेचिलो बन्दै गएको छ । कुन पार्टी वा नेताको ठाउँ कहाँ पर्छ भन्दा पनि सिंगो कम्युनिस्ट आन्दोलनको भविष्य कहाँ पर्छ भन्ने प्रश्न अहम् बन्दै गएको छ । विचार–सिद्धान्तमा एकरूपता हुँदाहुँदै व्यक्तिगत महत्त्वाकांक्षा, अहंकार र दम्भको सिकार बन्ने महारोगबाट हामीले कम्युनिस्ट आन्दोलनलाई मुक्त गरिनौं भने नयाँ पुस्तामाथि मात्र होइन, देशमाथि नै घात हुनेछ । भनिन्छ– इतिहासले सिक्न बाध्य गर्दैन तर नसिक्नेहरूलाई दण्डित गर्छ । यदि दण्डित नहुने हो भने सिक्नुको विकल्प छैन । त्यसैले इतिहासले सोधेका यक्ष प्रश्नको जवाफ दिन नेपाली वामपन्थी दलहरू तयार हुनैपर्छ ।
बस्नेत नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।