— प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा ३८ वर्षीय एक युवालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थप ६ जना माथि मुद्दा दायर गरी खोजी कार्य भइरहेको जानकारी दिएको छ ।
ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षीय रमेश तिमिल्सिनालाई आइतबार राति कुटपिटबाट घाइते भएका थिए । कालगतिले मृत्यु भएका घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई त्यही राति साढे १२ बजे ठाकुरबाबा–३ गिदरपुरका २५ वर्षीय तर्क भण्डारीलगायत १०/१५ जनाको समूहले कुटपिट गरेको पीडित परिवारले जाहेरी दिएको प्रहरीले जनाएको छ । उनी माथि गोली प्रहार भएको स्थानीयले बताए । फलामे सरिया र कुटपिटबाट शरीर र टाउकोमा प्रहार गरिएको प्रहरीले जनाएको छ । चिकित्सकले गोलीको छर्रा फेला नपरेको जनाएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्र बहादुर मल्लले बताए ।
कुन विषयमा विवाद भएको खुल्न सकेको छैन । डीएसपी मल्लले त्यही पालिका–३ का २० वर्षीय प्रकाश साउद र त्यही पालिका–१ का ३४ वर्षीय सुरेश कुर्मीलाई पक्राउ गरी मुद्दा दायर गरेको बताए । तिमिल्सिनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा आईसियुमा राखी उपचार भइरहेको छ,’ उनले भने, ‘घटनामा संलग्न थप ६ जना फरार भएकोले खोजी कार्य भइरहेको छ ।'
घटनाका सबै दोषी माथि कारबाहीको माग राख्दै स्थानीयले दिनहुँ बिहान १ देखि २ घण्टा राजमार्गमा चक्काजाम गर्दे आएका छन् । उद्योग वाणिज्य संघ, भुरीगाउँका पूर्व अध्यक्ष जीवन शाहीले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरिए जिल्ला प्रशासन कार्यालय, बर्दियामा प्रदर्शन गरिने बताए ।