: भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। सोमबार साँझ करिब ६:५२ बजे हुन्डाई आइ२० मोडलको कारमा ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ।
विस्फोटको तीव्रता यति ठूलो थियो कि आसपासका सवारीसाधन र संरचनामा समेत क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थको रूपमा अमोनियम नाइट्रेट प्रयोग गरिएको फरेन्सिक रिपोर्टमा देखिएको छ।
विस्फोटमा प्रयोग गरिएको कार हरियाणाको गुरुग्राममा एचआर२६ नम्बरमा दर्ता गरिएको थियो। उक्त कारका पहिलो मालिक मोहम्मद सलमान रहेको खुलेको छ। कार सातपटकसम्म किनबेच भएको खुलेको छ। जुन कार पछिल्लोपटक डा. उमर नबी नामक व्यक्तिसँग पुगेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार डा. उमर कश्मीरका चिकित्सक हुन्। उनी जैश-ए-मोहम्मदसँग सम्बन्धित रहेको आशंका गरिएको छ। घटनाको दिन नै जम्मु-कश्मीर, हरियाणा र उत्तर प्रदेश प्रहरीको संयुक्त कारबाहीमा हरियाणाको फरीदाबादस्थित आवासीय क्षेत्रबाट करिब २,९०० केजी शंकास्पद विस्फोटक (अमोनियम नाइट्रेट), एके ४७ र अन्य हतियार बरामद गरिएको छ। बरामद सामग्रीमा ३६० केजी अमोनियम नाइट्रेट, एके ४७ र बेरेट्टा पिस्तोल समेत भएको अधिकारीहरूले बताएका छन्।
उक्त बरामदगी उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका डा. आदिल अहमद राथरसँग जोडिएको बताइएको छ। कश्मीरका राथर सहारनपुरमा चिकित्सकको रूपमा कार्यरत थिए। उनीबाट प्राप्त जानकारीका आधारमा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई पनि पक्राउ गरिएको छ। शाहीनलाई जैश-ए-मोहम्मदको महिला विभागको भारत प्रमुखका रूपमा परिचालित गराइएको आशंका गरिएको छ।
दिल्ली प्रहरीले उक्त घटनालाई आतंकवादी हमला मानेर गैरकानुनी क्रियाकलाप ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ। घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सी र दिल्ली प्रहरीको विशेष शाखाले संयुक्त रूपमा गरिरहेका छन्। फरेन्सिक प्रमाण र प्रारम्भिक अनुसन्धानमा यो हमला संगठित आतंकवादी समूहद्वारा पूर्वनियोजित रहेको स्पष्ट भएको सुरक्षा निकायहरूले बताएका छन्।
भारतमा यसअघि पनि मुम्बई २६/११, पुलवामा २०१९ र पहलगाम २०२५ हमलाजस्ता घटनामार्फत आतंकवादविरुद्ध निरन्तर चुनौतीको सामना गर्दै आएको छ।