: समाजवादी मोर्चाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अलग भएको छ । पार्टी महासचिव विप्लव सीले आज एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका हुन्।
समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएकाले मोर्चाको औचित्य समाप्त भएको उनको भनाई छ। मोर्चाले राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेपनि रफ्तारमा काम अगाडि नबढेको विप्लवले बताए।
‘२०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो सम्भव बनेन।’ विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’