— नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिबद्ध रहेको जनाएका छन्।
बिहीबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि सिंहदरबारमा आफ्ना भनाइ राख्दै उनले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो प्रमुख ध्येय रहने बताएका छन्।
आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति आफू सचेत र सजग रहेको बताएका छन्। नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
उनले भने, ‘देशमा सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतीहरू उठाउँदै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी असाधारण भएकोप्रति म जानकार र सजग छु। असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारी नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संघसंस्था एवं अन्य समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै, प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आम जनताको चाहनाअनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।'
नेपाल प्रहरीको मनोबल उच्च राख्दै सुशासन र जनअपेक्षाअनुसारको कार्यसम्पादन गर्ने उनको भनाइ छ। उनले भने, 'एकातर्फ प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनःस्थापना तथा आसन्न निर्वाचनलाई दृष्टिगत गरी आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कातर्फ प्रहरीहरूको मनोबल उकास्न र जगाइराख्न पनि उत्तिकै जरुरी छ।'
हाल देशमा लागूपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका समस्या चिन्ताजनक रूपमा बढ्दो रहेको उनले जानकारी दिएका छन्। यी चुनौतीहरू समाधान गर्न प्रहरी संगठनलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
सूचना प्रविधिको तीव्र विकास, अपराधका प्रवृत्तिमा आएको परिवर्तन र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमताको विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्नु प्रहरी संगठनको साझा जिम्मेवारी रहेको उनले बताए ।
उनले भने 'नेपाल प्रहरीलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनुपर्नेछ। एकातिर भौतिक संरचनाहरूको पुनःस्थापना र आसन्न निर्वाचनलाई दृष्टिगत गरी हतियार, सवारीसाधनलगायतका आवश्यक व्यवस्थाहरूको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कातर्फ प्रहरीहरूको मनोबललाई पनि जगाइराख्ने र वृद्धि गर्ने उत्तिकै टड्कारो आवश्यकता छ। अपराध र सुरक्षा चुनौतीहरूको सन्दर्भमा पारस्परिक प्रवृत्तिहरूमा आएको परिवर्तन, सूचना प्रविधिमा भएको द्रुत विकास र सुशासनप्रतिको जनअपेक्षाअनुरूप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो साझा आवश्यकता र दायित्व हो।’
उनले प्रहरीलाई पोषणको कमी रहेकोले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका छन्।
प्रहरी नियमावलीमा उल्लेख गरिएको ३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमान्ड कार्की मातहत आएको हो। खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।