— जेन-जी आन्दोलनको प्रमुख माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने मात्र नभइ नेतृत्व पुस्तान्तरण पनि थियो । जेन-जी विद्रोहको सन्देश थियो- भ्रष्टाचारको अन्त्य, सुशासन कायम अनि राजनीतिक नेतृत्वमा पुस्तान्तरण । विद्रोहकै बलमा बनेको नयाँ सरकारले निर्वाचन गराउने तयारी थालेको छ ।
त्यसका लागि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेको लर्को छ । तर के दर्ता भएका दलहरुको नेतृत्वमा नयाँ पुस्ता छन् त ? फागुन २१ मा हुने निर्वाचनका लागि आयोगमा अहिलेसम्म २० नयाँ दल दर्ताका लागि निवेदन परेका छन् । हामीले दर्ता भएका दलको नेतृत्वमा कुन उमेर समूहका मानिस छन् भनेर हेरेका छौं ।
हाल दर्ता प्रक्रियामा रहेका २० दलमध्ये अधिकांशको नेतृत्वमा ५० वर्षमाथिका छन् । आयोगमा पुगेकामध्ये राष्ट्रिय परिवर्तन पार्टीको नेतृत्व २८ वर्षभन्दा कमका अजयकुमार राइले गर्दैछन् । बाँकी सबै दलको नेतृत्व ५० वर्षमाथिकाले लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको अगुवाइमा मंगलबार घोषणा भएको उज्यालो नेपाल पार्टीको नेतृत्व पूर्वसचिव अनुपकुमार उपाध्यायले गरेका छन् । उनी अहिले ६५ वर्ष पुगीसके । जनयुग पार्टी दर्ताका लागि निवेदन दिएका छन, पूर्वराजदूत नवराज सुवेदीले । उनी आफैँ भने ६५ वर्षका छन् । नेपाल लिबरल पार्टीको नेतृत्वमा छन्, गोपीलाल न्यौपाने । उनी ६१ वर्षका हुन्।
आयोगमा परेको दल दर्ताको निवेदन केलाउँदा ५ वटा पार्टीको नेतृत्वमा ५० वर्षभन्दा माथिका छन् । कम्युनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्द ५८ वर्ष, राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डल ५४ वर्ष, आवाज पार्टीका सुन्दरराम बोहरा ५३ वर्ष र जनादेश पार्टी नेपालका रमणकुमार कर्ण ५० वर्षका छन् ।
केही दलको नेतृत्वमा भने ४० वर्ष मुनिका पनि छन् । राष्ट्र निर्माण दलका अकबर खान र हाम्रो पार्टी नेपालका खगेन्द्र सुनार ४० वर्षमुनिका छन् । सबैभन्दा रोचक त के छ भने राष्ट्रिय जेन-जी पार्टी भनेर दल दर्ताको निवेदन दिएका हिराप्रसाद सेती ३२ वर्षका छन् । दुर्भाग्य त यो छ कि यतिधेरै दल दर्ता हुन आए पनि कुनै पनि दलको नेतृत्वमा महिला छैनन् ।
अहिले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएकामध्ये पाँच दलले दर्ताको प्रमाणपत्र पाइसकेका छन् । प्रमाणपत्र पाइसकेकामध्ये रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको नेतृत्व मात्रै जेन-जी अर्थात् २७ वर्षका कविर सोबले गरेका छन् । यी बाहेकका गतिशील लोकतान्त्रिकदेखि श्रम संस्कृति पार्टीसम्मको नेतृत्वमा पनि जेन-जी युवा छैनन् ।