: निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसँग छलफल गरेको छ। बिहीबार आयोगले प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रमको मस्यौदामाथि दलहरूसँग छलफल गरेको हो।
त्यस्तै राष्ट्रियसभाको निर्वाचन कार्यतालिकामा समेत दलहरूसँग परामर्श गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। दलहरूसँग छलफल गरेसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई अन्तिम रूप दिएर राजपत्रमा प्रकाशित गरिने उनले बताए।
त्यस्तै मतदाता नामावली संकलनदेखि अन्तिम सूची प्रकाशन गर्ने आयोगको कार्यतालिकामाथि पनि दलहरूलाई जानकारी गराइएको प्रवक्ता भट्टराईले जानकारी दिए। छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनको तयारीका साथै शान्ति सुरक्षालगायतका विषयमा चासो राखेको उनले बताए।
छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनलाई सम्पन्न गर्न आयोगले गरेका काम कारबाहीका बारेमा जानकारी लिएको बताएका थिए। नेपाली कम्युनिष्ट पार्टीका नेता मुक्ति प्रधानले तोकिएको समयमा निर्वाचन अनिवार्य हुनुपर्ने भएकाले निर्वाचनको वातावरण बनाउन सुझाव दिएको जानकारी दिए।
जसपा नेपालका नेता प्रकाश अधिकारीले अहिलेको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न चुनौती रहेको यसमा भइरहेको तयारीका बारेमा जानकारी लिएको बताए। त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले उम्मेद्वारी दर्ता गरेपछि अन्य दलसँग मिलेर पछि उम्मेद्वारी निष्कृय पार्ने दललाई कारबाही गर्नुपर्ने सुझाव दिएको बताए। पैसा खर्च गरेर चुनाव जित्ने प्रवृतिलाई निरुत्साहित गर्न समेत आयोगलाई सुझाव दिएको उनको भनाइ छ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ भने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। निर्वाचनको तयारीका लागि आयोगले सरोकारवाला निकायसँग निरन्तर परामर्श गरिरहेको छ।