— बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु भएको छ । बाँकी ५.५ किमि खण्डमा ठेक्का सम्झौता हुने चरणमा छ । सडकको ठेक्का भएर काम सुरु भइसक्दा पनि पुल निर्मणको ठेक्का भने अझै हुन सकेको छैन । ठेक्का भएका पुलको पनि काम सकिएको छैन । सडकको ठेक्का भएर काम सुरु भइसक्दा बल्ल पुल निर्माणका लागि ठेक्काको सुरसार थालिएको हो ।
यस राजमार्गमा अघिपछि सधैं ट्राफिक जाम हुने भनेकै पुलमा पुगेपछि हो । सिंगल लेनका पुलका कारण यस राजमार्गमा सधैं ट्राफिक जाम हुने गरेको छ । अब दुई लेन सडकसँगै पुल पनि दुई लेनकै बनाउने गरी अध्ययन सुरु गर्न लागिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार उक्त राजमार्गको केही खण्डमा चार वटा पुल निर्माणका लागि अध्ययन गरिँदै छ । केहीमा ठेक्का भएर काम भए पनि केहीमा निर्माण प्रगति सन्तोषजनक छैन ।
‘अहिले राजमार्गमा रहेका पुल साँघुरा र सिंगल लेनका छन्,’ उनले भने, ‘दुई लेनका पुल निर्माणका लागि अध्ययन थाल्दै छौं ।’ अध्ययन गरिसकेपछि कस्तो पुल बन्ने टुंगो लाग्ने न्यौपानेले सुनाए । ‘अहिले पुल त छन्, तर दुई लेनका नभएर समस्या भएको छ,’ उनले भने, ‘दाप्चा खोलाको भकुन्डेबेसी, दाप्चा खोला, रोशी खोला र नार्केमा नयाँ पुल बनाउन लागिएको हो ।’
राजमार्गको माम्ती र कालढुंगामा भने पुलको ठेक्का भइसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘गत असोजको बर्खामा माम्ती पुलबाटै सवारीसाधन चलाइयो, यसको फिनिसिङको काम मात्र बाँकी छ,’ योगेशले भने, ‘कालढुंगामा ठेक्का भए पनि काम हुन सकेको छैन, पहिला गरिएको डिजाइनमा पुनर्विचारको काम भइरहेको छ, यसको रिपोर्ट आउन बाँकी छ ।’ यही राजमार्गमा पर्ने बर्खे खोलामा पुलको ठेक्का भए पनि निर्माणमा प्रगति छैन ।
अहिले ठेक्का भएको सडकमा स्थायी निर्माणको काम सुरु भइसकेको छ । ‘एकैपटक पुल र सडक निर्माणको ठेक्का गर्न मिल्ने हो, पुल छँदै छ भनेर पहिला सडक बनाउने कुरालाई प्राथमिकता दिएका हौं,’ योगेशले भने, ‘फेरि बजेटअनुसार सडक मात्र बनाउन सक्ने अवस्था थियो, त्यहीअनुसार पहिला सडकको मात्र ठेक्का गरिएको हो ।’
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गर्ने खण्डबाहेकको सडक खण्डमा ठेक्का लागिसकेको छ । अहिलेसम्म अस्थायी मर्मतका भरमा राजमार्ग सञ्चालन हुँदै आएको थियो । यस वर्ष १८, १९ र २० असोजमा आएको बाढीले अस्थायी मर्मतका भरमा चलाइएको राजमार्ग फेरि बगाइदिएर समस्या थपिदिएको छ । अहिले खोलो तर्काएर सवारीसाधन सञ्चालनमा ल्याइएको छ । गत वर्षको असोजमा आएको बाढीले राजमार्गको १२ किमि सडकखण्ड बगाउँदा चाडबाडका मुखमा यात्रुले विकल्प खोज्नुपरेको थियो । अर्को वर्षको बाढीमा भने समस्या नहुने सडक विभागको दाबी छ ।
‘जाइकाले गर्ने खण्डको समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भइसकेको छ, डिजाइन फाइनल भई ठेक्का सम्झौता हुने चरणमा छ,’ प्रमुख न्यौपानेले भने, ‘डिजाइन सडक विभागमा पठाइसकिएको र स्वीकृतिको प्रक्रियामा छ ।’ जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्ड निर्माण हुन लागेको हो ।
‘जापानले बनाउने खण्डको डिजाइनमा रेनफोर्स्ड अर्थ वाल (आरिवाल) बनाउने प्रस्ताव गरेका छन्,’ उनले भने, ‘उक्त वाल बनाउने कि नबनाउने भन्नेबारे टुंगिसकेको छैन, डिजाइन स्वीकृत भएपछि थाहा हुन्छ ।’ राजमार्गअन्तर्गत भकुन्डेबेसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । भकुन्डेबेसीदेखि चारसयबेसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् ।
चारसयबेंसीदेखि डालाबेसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता मितिले दुई वर्षभित्र काम सक्नुपर्ने सडक विभागले जनायो ।
पिप्लेदेखि डालाबेसीसम्मको २.३ किमि खण्डको ठेक्का आह्वान भई आर्थिक मूल्यांकनका क्रममा छ । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरिढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ हो ।