— पर्सा प्रहरीले अनलाइन स्क्याममा संलग्न एक नाबालकसहित तीनलाई शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
विशेष सूचनाको आधारमा बुधबार करिब १२ बजेको समयमा वीरगन्ज महानगरपालिका–८ प्रभु अस्पताल अगाडि सडक खण्डबाट सर्वसाधारणलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी ठगी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगन्ज मनपा–२९ मुसैलीका ३५ वर्षीय कृष्णा प्रसाद, बारा विश्रामपुर गाउँपालका–१ का २१ वर्षीय राहुल मण्डल र एक १४ वर्षीय नाबालक छन् । उनीहरुले विभिन्न बैंकहरूको ‘मनी मोल एकाउन्ट’ खोलाई उक्त खाताहरूमा सोसल मिडिया प्लाटफर्महरुमार्फत फेक अनलाइन बिजनेस स्क्याम र एआईबाट विभिन्न कम्पनीहरुको आवश्यक पर्ने कागजातहरु बनाइ सामानहरुको अर्डर बिल बनाइ ठगी गर्ने गरेको पाइएको छ ।
उनीहरुले विभिन्न व्यक्तिहरुको बैंक खाता र डिजिटल वालेटको प्रयोग गरी करिब १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको पनि पाइएको छ । उनीहरुबाट विभिन्न बैंकका ४३ थान एटिएम कार्डसमेत बरामद भएको छ । उनीहरुविरुद्ध बैंकिङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
यो गिरोह करिब एक महिनादेखि मधेश प्रदेशका प्रायः सबै जिल्लामा सक्रिय रहेको छ । ठूला ठूला कम्पनीको नाम प्रयोग गरी मालवस्तु खरिदको अर्डर दिने नक्कली चेकबाट पेमेन्ट गरी मालवस्तु अर्डर लिएर गायब हुने गुनासो उद्योगी व्यवसायी वृत्तबाट व्यापक गुनासो आइरहेको थियो ।