— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताएका छन् ।
आज एक वक्तव्य जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाका सम्बन्धमा महाधिवेशनमा छलफल हुनुपर्नेमा जोड दिएका छन् । एमाले नेतृत्वले गत भदौ २०–२२ मा दोस्रो विधान महाधिवेशन सम्पन्न भएकाले अबको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि मात्रै भएको जनाउँदै आएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूले समसामयिक विषयमा मन्तव्य दिएपछि महाधिवेशन नेतृत्व चयनमा लाग्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
'जेनजी आन्दोलनपछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरूसमेत हिजोको अवस्थामा छैनन् । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,' पोखरेलले वक्तव्यमा भनेका छन्, 'हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिको भूमिका रहनेछ ।'
नवयुवा पुस्ता र आम जनताको आकांक्षा, आशा, असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान नमिल्दैन पोखरेलले बताएका छन् । 'त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरूरी छ । सोही अनुसार हाम्रो विचार, कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरूरी छ,' उनको भनाइ छ । सँगै उनले भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न नसकिने उल्लेख गरेका छन् । 'त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौं । त्यसका लागि हामी सबैले आग्रह, पूर्ववत् अडान, अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नुपर्छ । आन्दोलन र विध्वंसको पक्ष/विपक्ष वा वादी/प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन,' वक्तव्यमा पोखरेलले भनेका छन् ।
भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको भन्दै उनले राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा नरहेको उल्लेख गरेका छन् । 'यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,' उनले भनेका छन् ।