— राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी केन्द्र अन्य कम्युनिस्ट पार्टीसँग एकतामा जाँदा अलग्गिएको जनार्दन शर्मा समूहसँग जोडिएका छन् ।
भट्टराई, शर्मा र परियार मिलेर राजनीतिक दल गठन गर्ने भएका छन् । जनार्दन शर्मा, सुदन किराँती, मानुषी यमी भट्टराईलगायतसँग मिलेर पार्टी गठन गर्न लागेको परियारले जानकारी दिए ।
भट्टराईको नेसपा (नयाँ शक्ति) बाट संयोजक दुर्गा सोब, शर्माको प्रगतिशील राष्ट्रिय अभियानबाट सुदन किराँती र परियारले शुक्रबार नै पाँच बुँदे सहमति भएको छ । यो सहमतिसँगै नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढिसकेको पनि परियारले जानकारी दिए । 'जनार्दन शर्मा, सुदन किराँती, मानुषी यमी भट्टराईलगायतसँग मिलेर पार्टी गठन गर्ने कुरा भएको छ । साथीहहरू निर्वाचन आयोगमा जानुभएको छ । दल दर्ताको समय थोरै भएकाले आयोगमा साथीहरू जानुभएको छ,' परियारले भने ।
तीन पक्षबीच भएको सहमति पत्रमा 'देशको गम्भीर अर्थ–राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन-जी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार बीच सहमति' भएको भनिएको छ ।
यस्ता छन् सहमतिका पाँच बुँदा:
१. विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन-जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
२. एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमति जनाउँदछौँ ।
३. मंसिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।
४. देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेन–जी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।
५. भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।
परियारले शुक्रबार मात्रै रास्वपा छोडेका थिए । उनी विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए । आफ्ना धारणा र विचार रास्वपामा स्थापित गर्न नसकेकाले छोड्नुपरेको उनले पार्टीलाई पठाएको राजीनामा पत्रमा उल्लेख छ ।
'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रुपमा लिएको छु । नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु,'परियारले भनेका छन्,'बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु ।'
रास्वपासँग आगामी दिनमा सहकार्य हुन सक्ने पनि राजीनामा पत्रमा उनले लेखेका छन् ।