— एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० कोठे टहरो बनाएको टिप्पणी गरेका छन् ।
'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व जोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने ।
एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले एमाले मूलघर भएका कारण सबैलाई फर्कन अपिल पनि गरे ।
निर्वाचन हैन, संसद् पुनर्स्थापनामा एमालेले जोड दिएको उनले बताए । 'निर्वाचित सरकार र संसद् जसरी भंग गरेर फागुनमा निर्वाचन गर्ने भनिएको छ यो सामान्य निर्वाचन हैन । विदेशी शक्ति केन्द्रले नेपालमा आफ्नो अनुकूलको सरकार र संसद् ल्याउन यसो गरिरहेका छन्,' थापाले भने ।
उनले घोषित निर्वाचन नौटंकी र विदेशीको 'हनी ट्र्याप' भएको बताए । 'उनीहरू यहाँका स्थापित पार्टीलाई गलाउने, समर्पण गराउने ताकमा छन् । फागुन २१ अघि सुशीला कार्कीले दलका नेतृत्वलाई समाउने छिन् । त्यसो नगरे उनलाई पनि हटाएर भनेको मान्ने अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने विदेशीको योजना हो,' उनले भने, 'त्यसैले हामी संसद्को पुनर्स्थापना भनिरहेका छौं ।'