— वीरगन्ज भन्सार कार्यालयअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ६ वर्षदेखि थन्किएका १ सय ८५ कन्टेनर फिर्ता गर्न अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरुले वीरगन्ज भन्सार कार्यालयलाई दबाब दिएका छन् ।
वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले हालै ती कम्पनीहरुले पत्राचार गरी अविलम्ब आआफ्ना कन्टेनर फिर्ता गर्न दबाब दिएको बताए । कोरोना महामारीअघि नै २०७६ सालमा तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तुहरुको वास्तविक आयातकर्ता तथा व्यक्ति तथा कम्पनी सम्पर्कमा नआएपछि बन्दरगाह परिसरमा ती कन्टेनर हाल पनि अलपत्र परेका छन् ।
‘कन्टेनरमा रहेका मालवस्तु जाँचपास प्रक्रियाका लागि कोही पनि आयातकर्ताले मालवस्तु आफ्नो भनी घोषणा गर्न नै आएनन्,’ उनले भने, ‘यस्तो अवस्थामा ती कन्टेनरसहितको वस्तु बेवारिस हुन जान्छ ।’
बन्दरगाहको पूर्वदक्षिण कुनामा ती कन्टेनर राखिएका छन् । कतिपय कन्टेनरबाट दुर्गन्धसमेत आइरहेको छ । कन्टेनरमा रहेका मालवस्तुको व्यवस्थापन नगरिएसम्म कन्टेरन खाली नहुने अवस्था छ । हाल आफूले प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकको संयोजकत्वमा एक समिति गठन गरी समितिले आवश्यक अध्ययन गरेर मालवस्तु नष्ट गर्ने प्रक्रियाबारे प्रतिवेदन दिएपछि कन्टेनरभित्र रहेका मालवस्तु नष्ट गर्ने निर्णय लिने ज्ञवालीले बताए ।
आर्थिक ऐनले गरेको नयाँ व्यवस्थाअनुसार भन्सार बिन्दु आयातकर्ताले ल्याएर राखेको कन्टेनर धनीले निवेदन दिएर जाँचपास गराई लग्न पाउने व्यवस्था रहेकाले ती कन्टेनर अझै पनि आफ्नो हो भनी घोषणा गरी लग्ने सुविधा आयातकर्तालाई रहको ज्ञवालीको भनाइ छ ।
सुरुमा कुल २ सय २० कन्टेनर मालवस्तु बन्दरगाह परिसरमा थन्किएकामा १७ कन्टेनर मालवस्तुको लिलाम बिक्री भई तीनवटा कन्टेनर फिर्ता पठाइसकिएको छ । १७ मध्ये १४ कन्टेनर फिर्ता पठाउने निर्णय भई भारत फिर्ता पठाउने प्रक्रियामा रहेको ज्ञवालीले बताए । बाँकी १ सय ८५ कन्टेर बेवारिस मालवस्तु नष्ट गर्नुपर्ने अवस्थामा छन् ।
‘आयातकर्ता सम्पर्कमै नआएपछि कन्टेनरभित्र रहेका मालवस्तु नष्ट गर्नुपर्ने भएकाले सिलबन्दी गरेर राखिएको छ,’ उनले भने, ‘ती कन्टेनरमध्ये ९० कन्टेनरमा केराउ, ६१ मा छोकडा, १० मा पोस्ता दाना, ९ मा सुपारी, ७ मा फिड सप्लिमेन्ट (आहार पुरक), २ मा मुसुरो दाल रहेका छन् ।’ यीबाहेक चना, ओखर, उडन टुथ ब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रेका पनि एकएक कन्टेनर रहेका छन् । ती कन्टेनरलाई स्थानीय प्रशासन तथा जिल्लास्थित सरकारी कार्यालय र सरोकारवाला निकायको रोहबरमा सिलबन्दी गरेर राखिएको ज्ञवालीले बताए ।
तीमध्ये कतिपय वस्तु अखाद्य रहेको प्रयोगशाला परीक्षणको प्रतिवेदन आएपछि नष्ट गर्नुपर्ने हुन्छ । तिनको रिपोर्ट अझै आइसकेको छैन । हाल लामो समय बितिसकेकाले केही मालवस्तुको कन्टेनर सिल तोडेर प्रयोगशाला परीक्षणका लागि पठाएर रिपोर्ट आएपछि नष्ट गर्ने कि नगर्ने भनि निर्णय लिनुपर्ने अवस्था रहेको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।