मुख्य समाचार
अशोक राई उपेन्द्र यादवसँग पनि छलफलमा
अशोक राई उपेन्द्र यादवसँग पनि छलफलमा

। अशोक राई नेतृत्वको जसपाले नेपाली कम्युनिस्ट पार्टीसँगसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पनि एकताबारे छलफल चलाएको छ ।

ती छलफलका प्रगतिबारे सामूहिक छलफल गर्न जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकबाट आगामी चुनावमा कोसँग मिलेर जाने भन्नेबारे निर्णय गर्ने जसपा अध्यक्ष अशोक राईले बताए ।




‘हामी नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टीसँग छलफलमा छौं,’ राईले अनलाइनखबरसँग भने, ‘आगामी चुनावमा एकता वा मोर्चाबन्दी कसरी जाने भनेर छलफल गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छौं ।’

नेकपा एमालेको उपाध्यक्ष भएका बेला २०६९ सालमा पार्टी परित्याग गरेर राईले संघीय समाजवादी पार्टी गठन गरेका थिए । २०७२ जेठमा उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमसँग एकता गरेर संघीय समाजवादी फोरम नेपाल पार्टी बनाएका थिए ।




मतभेदपछि उनले २०८१ वैशाख २३ गते उपेन्द्र यादवको साथ छोडेर आफ्नै अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) गठन गरेका थिए ।

जेनजी विद्रोहपछि दलहरुबीच एकता र ध्रुवीकरण चलिरहेका बेला प्रचण्ड र माधव नेपालले एकता प्रक्रियामा आउन अशोक राईलाई प्रस्ताव राखेका थिए । तर त्यतिबेला अशोक राई एकता गएनन् ।

शनिबार भने नेपाली कम्युनिस्ट पार्टीसँगको एकता छलफलमा जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । सो छलफलमा सहभागीपछि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपासँग सैद्धान्तिक र वैचारिक विषयमा छलफल भएको र छलफल सकारात्मक दिशामा गएको अनलाइनखबरसँग बताए ।

राजेन्द्र श्रेष्ठसँग भने अनलाइनखबरको सम्पर्क प्रयास सफल भएन । तर, जसपा अध्यक्ष अशोक राईले भने नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलको प्रगतिबारे आफूलाई ब्रिफिङ लिन बाँकी रहेको बताए ।

नेपाली कम्युनिस्ट पार्टीसँगै जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पनि छलफल भइरहेको जानकारी दिँदै उनले ती सबै छलफलको निचोडबारे भोलि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने बताए ।

‘कुन पार्टीसँग कस्तो खालको छलफल भयो, कुन नजिक-टाढा भयो भन्ने विषयमा भोलिको बैठकमा छलफल गरेर आवश्यक निर्णय गर्छौं’, राईले भने ।

जसपा नेपालका प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पनि जसपासँग पार्टी एकताबारे छलफल भएको पुष्टि गरे । उनले कम्युनिस्ट पार्टीसँग भन्दा जसपा नेपालसँग विचार, सिद्धान्त र एजेण्डामा नजिक रहेको बताए ।

‘अशोक राईजीले पहिले कम्युनिस्ट छोडिसकेकाले फेरि कम्युनिस्टतिर जाने अप्रिय निर्णय गर्नुहोला जस्तो मलाई व्यक्तिगत रुपमा लाग्दैन,’ बस्नेत भन्छन्, ‘उहाँहरुको विचार र एजेन्डा मिल्ने हामी जसपा नेपालसँगै हो । त्यसैले हामीसँग एकता गर्दा नै उहाँहरुलाई राम्रो हुन्छ भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताए । उनले संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल लगायत सम्बन्धित ...
। प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझ्दा जेनजी विद्रोह भएको बताएकी छन् । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले युवाको भावना राज्यले नबुझ्दा युवापुस्तामा निराशा र बेचैनी बढेको बताइन् । उनले नयाँ युवा पुस्ताको भावना र आवश्यकता सम्बोधन गर्दै राज्यले नै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ...
। केन्द्रीय समितिको बैठक लामो समयसम्म अनिर्णयको बन्दी भएर बसिरहँदा कार्यकर्ता र शुभेच्छुकमा निराशा बढिरहेको भन्दै नेतृत्व हस्तान्तरण र रुपान्तरणसहित चुनावमा जानुको विकल्प नभएको नेपाली कांग्रेस गण्डकी प्रदेशले गरेको भेलाले निष्कर्ष निकालेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा भएको ११ वटै जिल्लाका प्रतिनिधिहरुको भेलाले मंसिरभित्रै महाधिवेशन गरेर चुनावमा जानुपर्ने निर्णय नै गरेको हो ...
। हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको छ । यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने गरी जारी भएको नेपाली महावाणिज्य दूतावास हङकङले जनाएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको ...