मुख्य समाचार
यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगिँदै
यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगिँदै

। विद्यार्थी भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ ।

यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको हो । नेपालबाट यूएईका विश्वविद्यालयमा पढ्न भनेर गएका २ हजारभन्दा बढी विद्यार्थी त्यसरी ‘एजुकेसन स्क्याम’ मा परेको अनुमान छ ।

यसबारे नेपाल सरकारले आन्तरिक रूपमा छानबिन समेत थालेको छ । आफूहरू ठगीमा परेको जानकारी सहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएपछि यो विषय बाहिर आएको हो ।

यूएईको ‘फ्रि जोन’ मा इन्स्टिच्युटका नाममा दर्ता संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लैजाने गरेको देखिन्छ । त्यसका लागि नेपालमा सामाजिक सञ्जालमा रहेका डेढ दर्जन बढी कन्सल्टेन्सीले विद्यार्थीलाई १० लाख रुपैयाँभन्दा बढी उठाएर पठाउने गरेको पाइएको हो ।

फ्रि जोन यस्तो ठाउँ हो, जहाँ व्यवसाय गर्न सहजै संसारभरिबाट दर्ता गर्न सकिन्छ । यसलाई यूएई सरकारले ‘फ्रड’ कामका लागि दिएको अनुमति समेत भन्ने गरिन्छ ।

पीडित विद्यार्थीले शिक्षा मन्त्रालयका साथै यूएईको आबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा समेत जानकारी दिएका छन् ।

त्यसपछि परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयसँगको समन्वयमा छानबिन भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

‘उहाँहरूको उजुरी प्राप्त भएको छ, यसबारे मन्त्रालय जानकार भयो,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयसँगको समन्वयमा छानबिन गरिरहेका छौं ।’

शिक्षामन्त्री पुनले समेत सामाजिक सञ्जाल फेसबुक मार्फत ठगीको उजुरी आएको र छानबिन भइरहेको जानकारी गराएका छन् ।

‘यूएईमा पढ्न जाने विद्यार्थीहरू सावधान, नेपालका केही कन्सल्टेन्सीले यूएईको फ्रि जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू दिनदिनै पठाइरहेको कुराको उजुरी आएको छ,’ शिक्षमन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘त्यस्ता विद्यार्थीहरूले यूएईमा दु:ख पाइरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ, यसको गहन छानबिन हुँदैछ, कोही पनि नफस्नु होला ।’

कसरी ठगिँदैछन् ?

यूएईमा पढ्ने नाममा नेपाली विद्यार्थी कसरी ठगीमा परिरहेका छन् भन्ने विषयमा नेपालबाटै सुरु हुन्छ । ‘स्टडी इन दुबई/यूएई’ भन्दै सामाजिक सञ्जालमा विज्ञापन गर्ने कन्सल्टेन्सीहरूबाट नै यसको सुरुवात भएको देखिन्छ ।

यूएई पुगेर ठगीमा परेका केही विद्यार्थी अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनीहरूले ‘स्क्यान इन एजुकेसन स्क्याम’ अभियान नै थालेका छन् । जसमा यूएईमा अध्ययनका नाममा कसरी नेपाली विद्यार्थी फस्छन्, यूएई पुगेपछि कस्ता खालका समस्यामा पर्छन् भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

पीडित विद्यार्थीहरूले आफ्नो पहिचान गोप्य राखेर आफूहरू फसेको विषयमा बताएका छन् ।

काभ्रेका एक विद्यार्थी गत जनवरीमा ‘ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट एन्ड टुरिज्म’ पढ्न यूएईको सारजहाँ पुगे । डिल्लीबजारमा रहेको अक्सब्रिज इन्टरनेसनल मार्फत यूएई पुगेका उनले सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिजमा अध्ययन थाले ।

त्यसका लागि उनले १० लाखभन्दा बढी खर्च गरेका थिए । कलेजलाई मात्रै ५ लाख २० हजार रुपैयाँ बुझाएका थिए । यूएई पुगेर उनले तीन सातामात्र कक्षा लिन पाए । त्यसपछि भर्चुअल ट्रेनिङ सेन्टरका नाममा भर्चुअल कक्षा हुने बताइयो ।

‘जाने बित्तिकै कलेजको पूर्वाधार पूरै शून्य थियो, विश्वविद्यालय भनेर लगिएको ठाउँमा केही पनि थिएन,’ उनले भने, ‘त्यसपछि सुरुमा पहिला गएका नेपाली विद्यार्थीलाई भेटेँ, उनीहरूको झन् बिजोग थियो, त्यसपछि आफू ठगिएको भन्ने महसुस भयो ।’

आफू ठगीमा परेको भान भएपछि उनले यो विषयमा सोधिखोजी गर्नतिर लागे । बुझ्दै जाँदा विश्वविद्यालय भनेर पढ्न ल्याएको त भर्चुअल ट्रेनिङ सेन्टर रहेछ । युनिभर्सिटीको नाम दिएर भर्चुअल ट्रेनिङ सेन्टर चलाइरहेको पाइएको उनको भनाइ छ ।

त्यसपछि आफूले उनीहरू विरुद्ध अभियान चलाएर र यो विषयमा आवाज उठाउँदा भर्चुअल कक्षाबाट नै आउट गरिदिएको उनले बताए ।

भिसा सकिन ६ महिना बाँकी हुँदा कलेजले भिसा नवीकरण गर्न इमेल पठायो । र, त्यसका लागि १ हजार ४ सय अमेरिकी डलर खर्च लाग्ने बतायो । त्यस विषयमा समेत सोधिखोजी गर्दा कलेजको नै लाइसेन्स सकिन लागेको र त्यसअघि नै भिसाका नाममा पैसा पठाइहाल्ने योजना उनीहरूको रहेछ ।

‘९ महिनामा ३ च्याप्टरभन्दा बढी पढाएको थिएन, लाइसेन्स डिपार्टमेन्टमा बुझ्दा त भर्चुअल सेन्टर मात्रै रहेछ,’ ती विद्यार्थीले भने, ‘यसले डिग्रीको प्रमाणपत्र दिन नपाउने रहेछ, त्यसपछि हामी नेपाल फर्किनुपर्छ भनेर फर्कियौं ।’

विद्यार्थीहरूलाई बेलायतको ब्रिटिस कलेजको सम्बन्धन रहेको र भविष्यमा बेलायत, क्यानडा, फ्रान्स जान पाउने भनेर जाने स्क्याम गर्ने गरेको पाइएको उनले बताए ।

यूएईमा राम्रा विश्वविद्यालयमा पढ्न वार्षिक १ करोड रुपैयाँजति शुल्क तिर्नुपर्छ । छात्रवृत्तिमा बाहेक पढ्नेका हकमा निकै महँगो छ । तर, ठगी धन्दा चलाउनेले त्यही विषय मध्यनजर गर्दै १० लाखदेखि २० लाख रुपैयाँमा डिग्रीको सर्टिफिकेट दिने भनेर विद्यार्थी ठग्दै आएको ती विद्यार्थीको भनाइ छ ।

पोखराका सन्देश उप्रेती यूएई पुगेको २२ दिनमै नेपाल फर्किए । आफू ठगीमा परेको अनुभूति भएपछि नेपाल फर्किएको उनले बताए । त्यसरी ठगी गिरोहमा केही नेपाली समेत संलग्न रहेको पाइन्छ । कलेजका विभिन्न पोस्टमा नेपाली समेत राखेर ठगीलाई थप प्रश्रय दिने काम गरेको उप्रेतीको भनाइ छ ।

नेपाली कन्सल्टेन्सीबाटै ठगी धन्दा

नेपालमा रहेका कन्सल्टेन्सीहरूले यूएईका विश्वविद्यालयमा पढ्न पठाइदिने भन्दै १० देखि २० लाख रुपैयाँभन्दा बढी रकम लिने गरेका छन् । सोही आधारमा उनीहरूले यूएईमा रहेका विश्वविद्यालयमा नभई इन्स्टिच्युट मान्यताप्राप्त संस्थाहरूमा पढ्न पठाउने गरेका हुन् ।

यूएईस्थित नेपाली दूतावास स्रोतका अनुसार युनिभर्सिटी भनेर झुक्याउँदै इन्स्टिच्युटमा पठाउने गरेको देखिन्छ ।

‘कन्सलटेन्सीले झुक्‍याउँदा रहेछन्, नेपालमा सीटीईभीटीबाट सम्बन्धन लिएका इन्स्टिच्युट हुन्छन् नि, यूएईमा पनि त्यस्तै खालका पोलिटेक्निक इन्स्टिच्युट हुँदा रहेछन्,’ नेपाली दूतावसका एक अधिकारीले भने, ‘नेपालबाट युनिभर्सिटी भनेर त्यता पठाउने रहेछन्, युनिभर्सिटी जस्तै देखिने तर टेक्निकल ट्रेनिङ एकेडेमीमा पठाउने गरेको देखियो ।’

यूएईका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको समस्या देखिँदैन । तर, विश्वविद्यालय भनेर झुक्याएर इन्स्टिच्युटमा जानेका हकमा भने समस्या देखिएको ती अधिकारीको भनाइ छ ।

एक जना ‘ब्याचलर इन पब्लिक हेल्थ’ पढेकी नेपाली विद्यार्थी मास्टर्स पढ्न यूएई गइन् । २ वर्षको मास्टर्स कोर्स थियो । ६ महिना पढेपछि कलेजले २० प्रतिशत मात्रै कलेजमा आएर पढ्ने र बाँकी अनलाइन कक्षा हुने भन्यो ।

फिजिकल कहाँ हुने भनेर सोध्दा एउटा भाडामा लिएको घरमा लग्यो । विश्वविद्यालय भनेर लगिएको भाडाको कोठामा पढाउन थालेपछि आफू ठगीमा परेको भन्दै ती विद्यार्थीले समेत उजुरी दिएकी थिइन् ।

‘एउटा भाडामा लिएको घर जस्तो रहेछ, युनिभर्सिटी कहाँ छ भनेर सोध्दा पो युनिभर्सिटी नभएको थाहा पाएँ, त्यतिमात्र नभई युनिभर्सिटीको मान्यता नै रहेनछ,’ पीडित विद्यार्र्थीको भनाइ उद्धृत गर्दै दूतावासका ती अधिकारीले भने, ‘नेपालमा उनीहरूलाई कन्सल्टेन्सीले युनिभर्सिटीमा पढ्न जान हो भनेर पैसा लिएको रहेछ ।’

त्यसरी कन्सल्टेन्सीहरूले १० देखि १५ लाख रुपैयाँसम्म लिने गरेको पाइएको हो । ६ महिनाको पढाइ सकेपछि विद्यार्थीलाई वर्किङ भिसामा परिणत गरेर काम गर्नतिर लगाउने गरेको ती अधिकारीले बताए ।

इन्स्टिच्युटमा ६ महिना पढ्ने र त्यसपछि विद्यार्थी भिसालाई वर्किङ भिसामा परिवर्तन गरेर कामसमेत गर्ने गरेका छन् । पढ्नकै लागि भनेर जाने विद्यार्थीलाई समस्या हुने गरेको तर पढ्ने बहानामा काम गर्न जानेलाई खासै फरक नपर्ने देखिएको उनको भनाइ छ ।

विश्वविद्यालयमा पढ्न जाने कतिपय विदेशी विद्यार्थीलाई भने विश्वविद्यालयले नै खान बस्न तथा मासिक रूपमा भत्ता समेत दिने गरिएको छ ।

आफूहरू ठगिएको थाहा पाएर नेपाल फर्किएका केही विद्यार्थीले ‘स्क्यान टु एजुकेसन स्क्याम’ अभियान समेत चलाएका छन् ।

शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा १२ हजार ५ सय ४४ नेपाली विद्यार्थी अध्ययनका लागि यूएई गएको देखिन्छ । गत वर्ष मात्रै २ हजारभन्दा बढी नेपालीले यूएईका लागि एनओसी लिएको देखिन्छ ।

ट्रेनिङ इन्स्टिच्युटमा दर्ता, युनिभर्सिटीको दाबी

यूएईको फ्रि जोनमा रहेको ट्रेनिङ इन्स्टिच्युटहरूले आफूलाई युनिभर्सिटी दाबी गर्दै आएका छन् । उनीहरूले नेपाली कन्सल्टेन्सीसँग मिलेर विद्यार्थी ठगी गर्ने गरेको पाइएको हो ।

दूतावासमा परेका उजुरीमा सबैभन्दा बढी ठगिनेमा ब्रिटिस युनिभर्सिटी कलेज इन्टरनेसनल–एफजेड (बीआईसीयू) र सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज (सीएएमएस) इन्स्टिच्युटमा जाने छन् । बीआईसीयूले पेरिस–अमेरिकन इन्टरनेसनल इन्स्टिच्युटबाट सम्बन्धन लिएको दाबी गर्दै नेपाली विद्यार्थी ठगी गर्ने गरेको पाइएको हो ।

पीडितले दिएको सूचना अनुसार यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा नेपालबाट विद्यार्थी पठाउन १८ वटा कन्सल्टेन्सी सक्रिय छन् । जसमा प्रो एभिएसन प्रालि, सटक्सी एजुकेसन फाउन्डेसन, एजुपोर्ट एजुकेसन कन्सल्टेन्सी, शिव ह्युम एजुकेसन कन्सल्टेन्सी, अक्सब्रिज इन्टरनेसनल कन्सल्टेन्सी, मेरिट्स इन्टरनेसनल कन्सल्टेन्सी, ब्राइटपथ एजुकेसन कन्सल्टेन्सी लगायत छन् ।

त्यस्तै सिटीहब एजुकेसन नेटवर्क, एस्पायर ग्लोबल एजुकेसन, कान्तिपुर एब्रोड कन्सल्टेन्ट, सिटी पार्क एजुकेसन कन्सल्टेन्सी, मेन्टोरा एजुकेसन कन्सल्टेन्सी, एक्सेल इन्टरनेसनल एजुकेसन प्रालि, सरम आई, एनटीईआर नेसनल, एएस एजुकेसन, सकुरा नेपाल कन्सल्टेन्सी प्रालि र एजुगेट कन्सल्टेन्सी लगायत सक्रिय छन् ।

फ्रि जोन क्षेत्रमा खुलेर उनीहरू नेपाली विद्यार्र्थी ठगी धन्दामा सक्रिय देखिएका हुन् । नेपाली विद्यार्थी ठगिएको विषय आएपछि दुबईस्थित नेपाली महावाणिज्य दूतावासले अनुगमन गरेको थियो । अनुगमन क्रममा विद्यार्थीलाई अनावश्यक दु:ख नदिन सचेत गराइएको थियो ।

पैसा फिर्ता लिने पहिलो नेपाली

जनकपुरका विश्वजितकुमार यादव विद्यावारिधि (पीएचडी) अध्ययन गर्न दुबई पुगेका थिए । त्यहाँ पुगेपछि एजुकेसन स्क्याममा परेको अनुभूति भयो । पीएचडी अध्ययन गराउने भनेको संस्था भाडाका चार कोठामा सीमित थियो ।

त्यसपछि उनले यो विषयमा खोजी गरे । संस्था दर्ता, यूकेमा रहेको दर्ता, यूएईको शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, नेपालको शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत निकायमा इमेल पठाए ।

उनले संयुक्त राष्ट्रसंघको शिक्षा शाखामा समेत इमेल पठाए । लगातार इमेल पठाउने गरेपछि बिस्तारै सबैतिराबट प्रतिक्रिया आउन थाल्यो । यतिसम्म कि उनको विषय यूएईको राजपरिवारसम्म पुग्यो ।

त्यसपछि वकिल मार्फत उनले क्षतिपूर्तिका लागि उजुरी दिए । आफू नेपालमा ऋण निकालेर आएको तथा जग्गा, गाडीसमेत बेचेर आएको भन्दै २ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित उजुरी दिए । तर, पछि उनले २० हजार दिराम कलेजलाई तिरेको शुल्क र ५ हजार दिराम अतिरिक्त गरी २५ हजार दिराम क्षतिपूर्ति पाए ।

रकम पाउने बेला उनलाई ‘यो विषयमा बाहिर कहीँ कतै गएर बोल्दिनँ, यो विषय एकदमै गोप्य राख्छु’ भनेर कागज समेत गराइएको थियो ।

नेपाल फर्किएपछि आफूजस्तै अन्य विद्यार्थी समेत ठगीमा परेको बताउँदै त्यसविरुद्ध लड्ने उनले बताए ।

‘एयरपोर्टबाट सिधै जनकपुरको हवाई टिकट काटेर घर गएँ, घरमा एक हप्ताजति बसेँ,’ विश्वजितले भने, ‘त्यसपछि मजस्ता हजारौं विद्यार्थी ठगिएका छन्, यो एजुकेसन स्क्यामको अन्त्य गर्नुपर्छ भनेर लागेँ ।’

तत्कालीन शिक्षामन्त्री, परराष्ट्रमन्त्री, समकक्षता प्रदान गर्ने त्रिभुवन विश्वविद्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकाय धाए पनि कुनै उपलब्धि हात लागेन ।

अहिलेका शिक्षामन्त्री महावीर पुनलाई पनि सबै विषय जानकारी गराए । शिक्षामन्त्री पुनकै निर्देशनमा यो विषयको छानबिन अघि बढेको छ ।

दुईब नेपालिज इन्फ्लुएन्सल ग्रुप (डीजीएनआईजी) का विद्यार्थी नेता समेत रहेका विश्वजितले अब शिक्षाका नाममा यूएईमा भइरहेको ठगी धन्दा अन्त्य गर्ने अभियानमा लागेको बताए ।

‘हरेक दिन ५ देखि १० नेपाली विद्यार्थी यूएईमा पढ्न जाने भनेर स्क्याममा परिरहेका छन्, यसबाट हरेक दिन १ करोडभन्दा बढी रकम ठगीमार्फत यूएई गइरहेको छ,’ उनले भने, ‘यसको अन्त्य गर्न स्क्यान टु एजुकेसन स्क्याम अभियान नै चलाउन लागेको छु, मलाई साथ दियो भने ठगीमा परेका सबै नेपालीको पैसा फिर्ता दिन सक्छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नागरिक समूहका संस्थापक अध्यक्ष निगम हुमागाईं ‘देश अत्यन्तै गम्भीर मोडमा रहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । नागरिक समूहले काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ शीर्षकको एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । गम्भीर गृहयुद्धमा पुर्‍याउने षडयन्त्रबाट मुलुक जोगिएको उनको भनाइ छ । ‘सिंहदरबार जलेको छ, सर्वोच्च अदालत जलेको छ ...
। नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको बताएका छन् । आइतबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि नेता खनालले यस्तो बताएका हुन् । उनलाई पत्रकारहरूले सोधेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूलाई वृद्धहरूको पार्टी भन्नुभयो नि ।’ जवाफमा खनालले नेपाली कम्युनिस्ट पार्टी सिंगो जनताको ...
। निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ ...
। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज)सम्म विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रहेको छ । यसअनुसार खुद ...