: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक सरकारलाई चुनाव गराउने अधिकार नभएको बताएका छन्। आइतबार प्रेस चौतारीमा आबद्ध पत्रकारसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै उनले एमालेले कहिल्यै चुनावबाट पछि नहट्ने स्पष्ट पारेका हुन्।
उनले भने,‘एमाले चुनावबाट भाग्दैन तर यो अवैधानिक सरकारलाई देशमा चुनाव गराउने हक छैन। त्यसैले विघटित प्रतिनिधि सभा शीघ्र पुनर्स्थापित हुनुपर्छ।’
अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने बताए। उनले प्रदर्शन अझ सशक्त रूपमा अघि बढ्ने बताए। ʻहामीले जनप्रदर्शन सुरु गरेका छौँ। यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ,ʼ उनले भने।
अध्यक्ष ओलीले वर्तमान सरकारले जनप्रतिनिधि वा संविधानप्रति कुनै उत्तरदायित्व नराखेको बताए। अहिलेको सरकार असंवैधानिक भएको उनको दाबी छ।