— केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन केन्द्रित सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गर्दै सेना परिचालनका लागि पनि निर्णय भएको गृहका प्रवक्ता आनन्द काफ्लेले बताए । मंसिर ९ बाट निर्वाचन सुरक्षालक्षित प्रदेशस्तरीय गोष्ठी समेत गर्ने निर्णय भएको प्रवक्ता काफ्लेले बताए ।
हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाईका साथ कानुनी कारबाही अघि बढाउने सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।
सुरक्षा समितिको आजको बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी थिए।