: सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेको फार्मेसीबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नसिब फार्मेसीमा छापामारी फार्मेसी सञ्चालक र उनकी श्रीमतीलाई पक्राउ गरेको छ।
सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले फार्मेसीका सञ्चालक, करिब ५० वर्षीय नसिब नारायण चौधरीले ट्रामाडोल जस्ता नियमन बाहिरका प्रतिबन्धित लागुऔषधहरू बिक्री–वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा कारबाही गरिएको बताए। उनले प्रहरीले कानुन बमोजिम चौधरीको घर-कोठामा समेत खानतलासी गर्दा हालसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध भेटिएको जानकारी दिए।
खानतलासीकै क्रममा चौधरीकी श्रीमती २४ वर्षीया सम्झना चौधरीले घरको छतबाट दुई बोरा सिमेन्ट झैँ देखिने झोलासहितका बोराहरू फाल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले तुरुन्तै उक्त बोरा चेकजाँच गर्दा त्यसभित्र ट्रामाडोल एक हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल फेला परेको छ। यसका अतिरिक्त कोठाभित्रको टेबलबाट प्रतिबन्धित औषधिका ४०० पत्तामा ४ हजार ट्याब्लेट समेत बरामद गरिएको एसपी थेबेले बताए।
प्रहरीका अनुसार बरामद गरिएको औषधि अत्यधिक दुरुपयोग हुने प्रकृतिको भएको र यसको अवैध कारोवार पछिल्लो समय सुनसरी क्षेत्रका सीमावर्ती भेग हुँदै बढ्दै गएको छ। नेपाल-भारत खुल्ला सीमा तथा निगरानीको अभावका कारण तस्करहरूले भारतबाट औषधि भित्र्याई इटहरी, धरान र आसपासका क्षेत्रमा बिक्री वितरण गर्दै आएका छन्। पक्राउ परेका दम्पतीमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। बरामद औषधिको स्रोत, सञ्जाल तथा संगठित समूहको संलग्नता बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।