— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो ।
यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार कार्कीलाई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।
सीआईबीका अनुसार जग्गा लिजमा दिँदा सचिव कार्कीको समेत संलग्नता देखिएकाले जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको हो ।
ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो । त्यसको करिब २ वर्षपछि जग्गा लिजमा दिन सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरिएको थियो ।
त्यसबेला ६ कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । तर, त्यो बोलपत्रको मापदण्डसमेत थामसेर्कुलाईमात्र उपयुक्त हुने गरी तयार गरेको देखिएको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
दरबारमार्गको जग्गा लिज प्रकरणमा पहिले पनि नेपाल प्रहरीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी परेको थियो । प्रहरीबाट उजुरीमाथि कारबाही अघि बढाइएको थिएन भने अख्तियारले समेत २०७६ सालमै उजुरी तामेलीमा राख्ने निर्णय गरिदिएको थियो ।
महालेखापरीक्षकको कार्यालयले भने छानबिन गर्न भनेको थियो । अधिकृतहरूका अनुसार, नारायणहिटी दरबार अगाडिको एक रोपनी १४ आना जग्गा भाडामा लिन थामसेर्कुले सुरुमा ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो । तर, २४ फागुन २०७३ मा अर्को पत्र लेख्दै त्यति ठूलो रकम प्रस्ताव नगरेको उल्लेख गरेको थियो ।
त्यसबेला प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको साखः स्टिल इन्डस्ट्रिज प्रालिले ६२ करोड २४ लाख ५८ हजार र अद्रिसिय–लियोनज जेभीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।
सुरुमा ‘प्रस्ताव गरेअनुसार रकम दिन नसक्ने’ भन्दै आएको पत्रलाई अगाडि बढाउन भन्दै तत्कालीन सचिव अर्जुनकुमार कार्कीले सहसचिव कार्कीका नाममा तोक लगाइदिएको पाइएको अधिकृतहरू बताउँछन् । पछि सहसचिव कार्कीले ५ वैशाख २०७४ मा उनीहरूको प्रस्तावअनुसार १ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गर्ने निर्णय गरेका थिए ।