: पार्टीको विशेष महाधिवेशनका पक्षमा दबाब बढाउन कांग्रेस महामन्त्री गगन थापालगायतका नेताहरूले मंगलबार नेता डा. शेखर कोइरालासँग संवाद गरेका छन्। नियमित महाधिवेशन गर्न पार्टीभित्रका कतिपय नेताहरू सहमत नभएको भन्दै महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका पक्षमा उभिएका छन्। संस्थापन पक्षले विशेष महाधिवेशन स्वीकार नगरेको भन्दै त्यसका लागि दबाब दिन महामन्त्री थापालगायतले डा. कोइरालासँग संवाद गरेका हुन्।
त्यस क्रममा कोइरालाले पुसभित्र नियमित महाधिवेशन नभए केन्द्रीय समितिबाट निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका थिए। कोइरालाको भनाइ उद्धृत गर्दै संवादमा सहभागी एक नेताले भने, ‘शेखर दाइले पार्टी फुटको अवस्थामा नलैजाऔं भन्ने चाहना राख्नुभएको छ। तर, उहाँ निर्वाचन अघि पार्टीको महाधिवेशन हुनुपर्छ भन्नेमा स्पष्ट हुनुहुन्छ।’ महाधिवेशनबारे पार्टीमा उत्पन्न विवादको समाधानका लागि कोइराला संस्थापन पक्षका शीर्ष नेताहरूसँग पनि छलफल गरिरहेका छन्।
ती नेताका अनुसार शेखर कोइरालाले विवाद समाधानको निकास खोजिरहेका छन्। महामन्त्री थापा निकट एक नेताले भने, ‘नेता कोइराला पनि अब विशेष महाधिवेशनतिर जानुपर्छ भन्ने लाइनमै देखिनु भएको छ।’ कोइरालाको बालुवाटारस्थिति सम्पर्क कार्यालयमा शेखर, महामन्त्री थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे र देवराज चालिसेबीच छलफल भएको थियो। महामन्त्री शर्मा र उपसभापति धनराज गुरुङ भने काम विशेषले बैठकमा सहभागी थिएनन्। पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि रणनीति बनाउनेगरी उनीहरू छलफलमा जुटेका हुन।
कोइरालाले विशेष महाधिवेशन गरे पार्टी विभाजित हुने अभिव्यक्ति दिँदै आएका थिए। तर मंगलबारको छलफलमा भने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जान सकिने बताएका थिए। महामन्त्री थापाले पार्टी रूपान्तरणका लागि आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अडान राख्दै आएको बताएका छन्।
मंगलबार दिउँसो एक भिडिओ सन्देश जारी गर्दै थापाले पार्टी रूपान्तरणका लागि यसपटक कसैसँग नझुक्ने पनि बताए। ‘अहिले भित्र बहस भइरहेको कुरा अधिवेशन चुनाव अगाडि कि पछाडि भन्ने होइन, पार्टी रूपान्तरण गर्ने कि नगर्ने भन्ने कुरा हो। गलत निर्णय हुन दिँदैनौं, यसपटक हामी न झुक्छौं, न झुकिन्छौं।’
कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ। असोज २८ देखि सुरु केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन। मंसिर ४ गते दिउँसो केन्द्रीय समिति बैठक बस्दैछ। नेता कोइराला, महामन्त्रीद्वय थापा तथा शर्मा चुनावअघि महाधिवेशनका पक्षमा छन्। सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी वैशाखमा महाधिवेशनका पक्षमा छन्। दुईथरी मत भएपछि केन्द्रीय समितिले निर्णय लिन सकेको छैन।
केन्द्रीय समितिमा धारणा राख्दै महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न नसकिने भन्ने निष्कर्ष निकाल्ने हो भने मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग अनौपचारिक छलफल गरेर सहमतिको प्रयास गरिरहेका छन्।
असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। विधानअनुसार तीन महिना (पुसभित्रै) विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ।