: लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई सुनसरीको इटहरीबाट पक्राउ गरिएको छ। मंगलबार सुनसरीको इटहरी- सडक खण्डमा गरिएको ट्राफिक चेक जाँचमा उनीहरू पक्राउ परेका हुन। प्रहरीले उनीहरूलाई मुद्दा चलाउने तयारी गरेको बताएको छ।
कोशी प्रदेशमा सडक दुर्घटनाको जोखिम बढिरहेको कोशी लोकमार्गलाई सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यसहित इटहरीमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले यो अभियान सुरु गरिएको हो।
चालकहरूले लापरबाही तरिकाले सवारी चलाउँदा दुर्घटना हुने र यात्रुहरू असुरक्षित हुने भएकाले कोशी प्रदेशभरी नै यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका प्रमुख एसपी दीपक गिरीले बताए। इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको संयुक्त रूपमा सडक दुर्घटना न्यूनीकरण, चालकलाई सचेतना तथा नियमित स्वास्थ्य परीक्षण अभियान थालिएको उनले बताए।
मंगलबार सुनसरीको इटहरी–तरहरा क्षेत्रमा पर्ने कोशी लोकमार्गमा दैनिक रूपमा चल्ने यात्रुवाहक सवारीका चालकलाई प्राथमिकता दिँदै चालकहरू स्वास्थ्य परीक्षण गरिएको हो। चालकहरूलाई उच्च रक्तचाप, सुगर, ब्लड रिपोर्ट तथा लागूपदार्थ (लापसे) सेवनको परीक्षण गरिनुका साथै चाकका स्वास्थ्यसम्बन्धी जोखिम, व्यवहारगत समस्या तथा रात्रिकालीन लामो दूरी यात्राका प्रभावबारे सुरक्षा चेकजाच गरिएको थियो।
परीक्षणका क्रममा २९ जनाको स्वास्थ्य जाँच गरिएको थियो। जसमध्ये यात्रुवाहक सवारीका चालक, सहचालक र मोटरसाइकल/स्कुटर चालक गरी ८ जनाले लागूपदार्थ (लापसे) सेवन गरेको खुलेको एसपी गिरीले जानकारी दिए। उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको उनले बताए।
ट्राफिक प्रहरीका अनुसार कोशी लोकमार्गमा सवारी चाप तीव्र गतिमा बढ्दै गएको, लामो यात्राको थकान, चालकहरूको समयमै स्वास्थ्य जाँच नहुनुले दुर्घटनाका कारण थप जटिल हुने गरेको छ। परीक्षणमा लापसे सेवन गर्ने ८ जना भेटिनुमा गम्भीर विषय भएको बताइएको छ। यातायात व्यवसायी महासंघ कोशीका संयोजक सरोज श्रेष्ठले चालकहरूको स्वास्थ्य र अनुशासनमा सुधार ल्याउन व्यवसायी स्वयं पनि जिम्मेवार बन्नुपर्ने बताए। हामीले चालकलाई मात्र दोष दिएर हुँदैन। व्यवसायीले पनि दबाब नदिई समयमै विश्राम दिने, स्वास्थ्य परीक्षण गराउने र नियमपालन अनिवार्य बनाउनु अत्यावश्यक रहेको श्रेष्ठको भनाइ छ।
कार्यक्रममा सहभागी चिकित्सकहरूले दीर्घकालीन स्वास्थ्य परीक्षण, मानसिक अवस्था मूल्यांकन, नियमित चेकअप, मधुमेह र उच्च रक्तचाप नियन्त्रणका उपायबारे समेत चालकहरूलाई जानकारी गराएका थिए। स्थानीयवासीले पनि यस्तो कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने बताएका छन्।