: राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाका सम्बन्धमा अनुगमन गरेको छ। मंगलबार आयोगको टोली जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको हो।
सोमबार राति पक्राउ परेका प्रसाईं शान्ति सुरक्षाविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगले बताएको छ।
प्रसाई पक्राउ परेपछि आयोगले विज्ञप्ति जारी गर्दै देशको शान्ति सुरक्षामा असर पर्ने खालका कुनै पनि गतिविधि गर्न अनुरोध गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न राजनीतिक दल,अभियन्ता र आमनागरिकलाई आग्रह गरेको हो।
कोही कसैलाई पनि विचार अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भन्दै आयोगले त्यसतर्फ गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको छ।
बदलिँदो राजनीतिक परिस्थिति र चुनावको घोषणा समेत भइसकेको अवस्थामा देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु सरकारको प्रमुख प्राथमिकता रहेको आयोगको भनाइ छ। शान्ति सुरक्षाको कार्यमा सहयोग गर्नु नागरिकको समेत कर्तव्य हुनजाने आयोगले बताएको छ।