— जेन–जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरी मंगलबार पक्राउ गरेको छ ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र वस्नेतलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ ।
घरमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय मकवानपुर प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध (खैरो हेरोइन) मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो ।
ईलाका प्रहरी कार्यालय पालुङले फरार कैदी बस्नेतलाई पक्राउ गरेर कैद असुली गर्न भीमफेदी कारागार पठाएको ईलाका प्रहरी कार्यालय पालुङकी प्रमुख रुक्सा बज्राचार्यले बताइन् ।
यसैगरी लागु औषध मुद्दामा जिल्ला अदालत मकवानपुरले दोषी ठहर गरिएका फरार अभियुक्तलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका हेटौंडा उपमहानगरपालिका—११ सुकुम्वासी टोलका ३६ वर्षीय सुरेश महर्जनलाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यान्वयन गर्ने र दोषीलाई सजाय दिने उद्देश्यले डाईजेपाम ओसार पसार गरेको अभियोगमा महर्जनलाई ५ वर्षअघि अदालतले दोषी ठहर गरेको थियो । तोकिएको कैद र जरिवाना असुली गर्नका लागि जिल्ला अदालत मकवानपुरले उनलाई क्षेत्रीय कारागार भीमफेदी पठाएको छ ।