। एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ मा अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दाहरुमा आफूविरुद्ध परेका रिट निवेदनहरुको लिखित जवाफ पठाउदै ओलीले प्रधानमन्त्री शुसीला कार्कीको नामै किटेर उनी र उनका मन्त्रिपरिषदका सदस्यहरु राज्यसत्ता कब्जा गर्ने काम गरेको’ आरोप लगाएका हुन्।
उनले लिखित जवाफमा भनेका छन्, ‘अराजक अवस्थाको सृजना गराई सुशिला कार्की तथा उनको मन्त्रिमण्डलका सदस्यहरुले राज्यसत्ता कव्जा गर्ने दृष्य÷अदृष्य काम गरेको कुरा श्रृजित घटनाक्रमवाट पुष्टि भएको छ ।’
उनले लिखित जवाफमा ‘अराजक अवस्थाका लाभग्राही नै यस अवस्था सृजनाकर्ता रहेको’ आरोप लगाएका छन् । जवाफमा उनले भनेका छन्, ‘अराजकतालाई मात्रै आधार मानेर नेपालको शासन कुनै व्यक्ति तथा तिनको समुहले कव्जामा लिने कामलाई संविधानको धारा ५ मा उल्लेखित राष्ट्रिय हित विपरितको कार्य भन्ने स्पष्ट छ ।’ संविधानको धारा ५ मा ‘राष्ट्रहित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ’ भन्ने उल्लेख छ ।
‘संविधानलाई उल्लंघन गरी अराजकताको जगमा सरकार गठन हुन सक्दैन’ उनले लिखित जवाफमा भनेका छन्, ‘संविधानले वालिग मताधिकारको माध्यमवाट आवधिक निर्वाचन मार्फत मात्र सरकार परिवर्तन गर्ने अधिकार दिएको छ । अन्य कुनै दवाव वा प्रभावको माध्यमवाट सरकारलाई अपदस्त गर्न वा मतादेश विहिन व्यक्तिले सरकार सञ्चालन गर्न मिल्दैन ।’