मुख्य समाचार
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा

— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ ।


थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय पाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले हालै सार्वजनिक गरेको खोजमूलक रिपोर्टिङमा उल्लेख छ ।

रोयटर्सका अनुसार २०२४ मा मेटाले कुल वार्षिक आयको १० प्रतिशत रकम ठगीको नियतले गरिएका प्रचार र प्रतिबन्धित सामग्रीको विज्ञापनबाट आर्जन गरेको थियो । फेसबुकले एकातर्फ प्रयोगकर्ताको डेटा सुरक्षाको कुरा गर्छ भने अर्कोतर्फ उनीहरूको ‘वाल’ मा ‘स्क्याम’ (ठगी) र प्रतिबन्धित सामग्रीको विज्ञापन देखाइदिन्छ । मेटाका विभिन्न समयका गोप्य आन्तरिक प्रतिवेदनहरूको समीक्षा गर्दै मेटाका प्लाटफर्महरूले दैनिक १५ अर्ब वटा ‘स्क्याम एड’ देखाउने गरेको रोयटर्सको दाबी छ ।

ठगी विज्ञापनबाट वार्षिक १६ अर्ब आम्दानी

रोयटर्सलाई प्राप्त मेटाका आन्तरिक गोप्य दस्ताबेजअनुसार २०२४ मा ठगी गर्ने नियत वा प्रतिबन्धित विज्ञापनबाट यस कम्पनीले आफ्नो कुल आयको १० प्रतिशत हिस्सा अर्थात् करिब १६ अर्ब अमेरिकी डलर प्राप्त गर्ने आकलन गरेको थियो । डिसेम्बर २०२४ को एक दस्ताबेजमा कम्पनीले हरेक दिन १५ अर्ब वटा ‘ठगीको उच्च जोखिम भएका’ विज्ञापन आफ्ना प्रयोगकर्ताका प्लाटफर्ममा जारी गर्ने गरेको उल्लेख छ ।

‘धेरैजसो ठगी विज्ञापन त्यस्ता हुन्छन्, जुन मेटाको आन्तरिक चेतावनी प्रणालीले सहजै पहिचान गर्न सक्छ,’ रोयटर्सले लेखेको छ, ‘तर, कम्पनीले आफ्नो अटोमेटेड प्रणालीले कम्तीमा ९५ प्रतिशत शंकाको घेरामा राखेका विज्ञापनलाई मात्रै प्रतिबन्ध लगाउँछ । ठगीको संकेत देखिए पनि ९५ प्रतिशत विश्वास नभएसम्म ती विज्ञापन ब्लक हुँदैनन् ।’

बरु, विज्ञापन शंकास्पद रहेको पहिचान भएपछि फेसबुकले जरिवानास्वरूप ती विज्ञापन प्रसारण गर्न मूल्य बढाउने गरेको रोयटर्सले उल्लेख गरेको छ । यसको लक्ष्य त्यस्ता विज्ञापनलाई निरुत्साहित गर्ने दस्ताबेजमा भनिएको छ । ‘कुनै प्रयोगकर्ताले एक पटक ठगी वा प्रतिबन्धित सामग्रीको विज्ञापनमा क्लिक गरेपछि उनीहरूको वालमा यस्तै विज्ञापन आउने सम्भावना बढ्छ,’ दस्ताबेजमा भनिएको छ, ‘मेटाको व्यक्तिलक्षित विज्ञापन प्रणाली (अल्गोरिदम) ले प्रयोगकर्ताको रोजाइअनुसारको विज्ञापन दिने प्रयास गर्छ ।’



बेलायतमा गत वर्ष नियामक निकायले यस्तै अनुसन्धान गर्दा ठगीसाग सम्बन्धित ५४ प्रतिशत भुक्तानीका घटनामा मेटाका प्लाटफर्म प्रयोग भएको उल्लेख थियो, यो अन्य सबै सामाजिक सञ्जाल जोड्दा आउने हिस्साको दोब्बर हो

कुनै समय मेटामा सुरक्षा अनुसन्धानकर्ताका रूपमा काम गरेका ‘ठगी जाँचकर्ता’ सन्दीप अब्राहमले विज्ञापन उद्योगमा देखिएको नियमन अभावलाई यस दस्ताबेजले उजागर गरेको प्रतिक्रिया दिएका छन् । ‘बैंकहरूले ठगीधन्दाबाट मुनाफा आर्जन गरेको स्वीकार नगर्ने नियामक निकायहरूले प्रविधि उद्योगमा पनि भइरहेको समान गतिविधि सहन मिल्दैन,’ उनले रोयटर्ससँग भनेका छन् ।

मेटाका प्रवक्ता एन्डी स्टोनले रोयटर्सले प्राप्त गरेको दस्ताबेजमा अधुरा र छानिएका कुराहरू मात्रै रहेको प्रतिक्रिया दिएका छन् । त्यतिमात्रै दस्ताबेज पढ्दा ठगीप्रतिको मेटाको दृष्टिकोण अपव्याख्या हुने उनको दाबी छ । ‘कम्पनीले २०२४ मा १०.१ प्रतिशत आय ठगी गर्ने उद्देश्य रहेका र अन्य निषेधित विज्ञापनबाट आउँछ भनेर वैध विज्ञापनसमेत गणनामा परेको सामान्य अनुमान मात्रै थियो,’ स्टोनले भनेका छन्, ‘कम्पनीले पछि पुनः अध्ययन गर्दा त्यो संख्या निकै कम देखिएको थियो ।’ तथापि, उनले पछिल्लो संख्या कति थियो भनेर खुलाएनन् ।

स्टोनले ठगी विज्ञापनविरुद्ध लड्न कम्पनीले आत्मसमीक्षा गरिरहेको बताए । उक्त प्रतिवेदनमा ठगी विज्ञापनविरुद्ध लड्न मेटाले गरेको लगानीसमेत उल्लेख रहेको उनको भनाइ छ । ‘हामी ठगी विज्ञापनविरुद्ध आक्रामक भएर लड्यौं किनभने हाम्रो प्लाटफर्म प्रयोगकर्ताहरू यस्ता कन्टेन्ट हेर्न चाहँदैनन्,’ उनले भने, ‘हाम्रा वैध विज्ञापनदाताले पनि प्लाटफर्ममा ठगीका विज्ञापन रुचाउँदैनन् र हामी पनि रुचाउँदैनौं ।’ पछिल्ला १८ महिनामा प्रयोगकर्ताबाट रिपोर्ट भएका विज्ञापनमध्ये ५८ प्रतिशतलाई सामाजिक सञ्जालबाट हटाइएको उनले बताए । ‘२०२५ को अहिलेसम्म हामीले १३ करोड ४० लाख ठगी विज्ञापन कन्टेन्ट हटाएका छौं,’ उनले भने ।

मेटाले ठगी विज्ञापन निरुत्साहित गर्न अझै धेरै प्रयास गर्न खोजेको पनि केही दस्ताबेजले देखाएका छन् । २०२४ को दस्ताबेजमा भनिएको छ, ‘मेटाले २०२५ भित्र यस्ता विज्ञापन ५० प्रतिशतले हटाउने लक्ष्य राखेको छ ।’ सोही दस्ताबेजका केही अंशमा म्यानेजरहरूले स्टाफलाई सफलतापूर्वक ठगी विज्ञापनको संख्या घटाउन गरेको प्रयासमा धन्यवाद दिएका छन् । अर्को एक अंशमा मेटाका सञ्जाल विश्वव्यापी ठगी अर्थतन्त्रको खम्बा बनेको उल्लेख छ । मेटा आफैंले अनुसन्धान गरेर यो पत्ता लगाएको हो ।

२०२५ को मेमा मेटाका सुरक्षाकर्मीहरूले दिएको प्रस्तुतिमा भनिएको छ, ‘अमेरिकामा भएका सबै सफल ठगीमध्ये एकतिहाइमा मेटा प्लाटफर्म प्रयोग भएको देखिन्छ ।’ मेटाले आफ्ना प्रमुख प्रतिस्पर्धी कम्पनीहरूले ठगी विज्ञापन नियन्त्रणमा आफूभन्दा राम्रो काम गरेको पनि स्विकारेको छ । ‘मेटामा ठगीको विज्ञापन गर्न गुगलमा भन्दा सजिलो छ,’ अप्रिल २०२५ को मेटाको समीक्षा प्रतिवेदनमा उल्लेख छ । मेटाका गोप्य दस्ताबेजहरू यस्तो समय सार्वजनिक भएका छन्, जतिबेला विश्वभरका नियामक निकायहरूले अनलाइन ठगीबाट आफ्ना प्रयोगकर्तालाई जोगाउन सामाजिक सञ्जाल कम्पनीहरूलाई दबाब दिइरहेका छन् ।

आर्थिक ठगीको विज्ञापन गरेको विषयमा अमेरिकामा सेक्युरिटिज तथा एक्सचेन्ज कमिसनले मेटामाथि अनुसन्धान गरिरहेको पनि दस्ताबेजमा उल्लेख छ । बेलायतमा गत वर्ष नियामक निकायले यस्तै अनुसन्धान गर्दा ठगीसँग सम्बन्धित ५४ प्रतिशत भुक्तानीका घटनामा मेटाका प्लाटफर्म प्रयोग भएको उल्लेख थियो । यो अन्य सबै सामाजिक सञ्जाल जोड्दा आउने हिस्साको दोब्बर हो । रोयटर्सले एसईसी र बेलायती नियामकसँग पनि यस रिपोर्टबारे जिज्ञासा राखेको थियो तर उनीहरूले कुनै जवाफ दिएनन् ।

६ नोभेम्बरमा प्रकाशित वरिष्ठ प्रविधि पत्रकार जेफ हर्विचको ‘मेटा इज अर्निङ अ फर्च्युन अन अ डिल्युज अफ फ्रडुलेन्ट एड्स, डकुमेन्ट्स सो’ समाचारमा मेटाले कसरी र किन ‘स्क्याम एड’लाई आवश्यक सम्बोधन गरेको छैन भन्ने प्रश्नको जवाफ भेटिन्छ । पत्रकार हर्विचले यसअघि पनि फेसबुकले कसरी आफ्नो प्लाटफर्ममा सामाजिक सद्भाव वा लोकतन्त्रका लागि नभई विशुद्धरूपमा ‘इन्गेजमेन्ट’ बढाउन प्राथमिकता दिन्छ भन्नेबारे समाचार लेखेका थिए । ‘द फेसबुक फाइल्स’ प्रकरणको रिपोर्टिङपछि उनले ‘जर्ज पोल्क अवार्ड फर बिजनेस रिपोर्टिङ’ र ‘जेराल्ड लोएब अवार्ड’ जितेका थिए । उनले फेसबुककै आन्तरिक रणनीतिकहरू खुलासा गर्दै ‘ब्रोकन कोड’ नामक पुस्तक लेखेका छन् ।

मेटाको व्यावसायिक स्वार्थ

गुगल र ओपन एआईजस्ता अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न मेटाले एआईसहित नयाँ प्रविधिमा ठूलो लगानी गर्दै छ । वर्ष २०२६ मा कम्पनीले झन्डै ७२ अर्ब डलर पूर्वाधार तथा प्रविधिमा खर्च गर्ने जनाएको छ । खर्च ठूलो भए पनि कम्पनीको आम्दानीले यसलाई धान्न सक्ने दाबी मेटाका प्रमुख कार्यकारी मार्क जुकरवर्गले लगानीकर्ताहरूसँग गरेका छन् ।
‘मेटाको विज्ञापन व्यापारले यो खर्च धान्न सक्छ, हामीसँग यसका लागि पर्याप्त पुँजी छ,’ मार्कले गत जुलाईमा भनेका थिए । योजनाअनुसार मेटाले ओहायोमा भव्य डेटा सेन्टर बनाउँदै छ । त्यसको आकार न्युयोर्क सिटीको सेन्ट्रल पार्क बराबर हुने भनिएको छ । मेटाले आफ्ना आन्तरिक दस्ताबेजहरूमा ठगी विज्ञापन नियन्त्रण गर्दा गुमाउने रकम र प्रयोगकर्तालाई जोगाउन असफल हुँदा सरकारले गर्ने आर्थिक जरिवानाको पनि लेखाजोखा गरेको छ । २०२५ को दस्ताबेजमा स्पष्टै उल्लेख छ, ‘मेटाले भविष्यमा ठगी, अवैध जुवा, यौन सेवा र शंकास्पद स्वास्थ्य सामग्री जस्ता विज्ञापनको अवैध आयलाई कम गर्ने लक्ष्य राखेको छ । तर, एक्कासि यसलाई कम गर्दा व्यापार योजनामा असर पर्न सक्छ ।’

प्रयोगकर्तालाई जोगाउन असफल भएबापत वार्षिक १ अर्ब डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने एक आन्तरिक दस्ताबेजमा उल्लेख छ । ठगी विज्ञापनबाट आउने आयको दाँजोमा यो निकै कम हुने भएकाले जरिवाना तिर्दा पनि मेटालाई फाइदै हुने देखिन्छ । ‘हरेक ६ महिनामा मेटाले अति उच्च कानुनी जोखिमयुक्त विज्ञापनबाट ३.५ अर्ब डलर कमाउँछ, यो रकम कुनै पनि नियामक निकायलाई तिर्नुपर्ने जरिवानाको दाँजोमा निकै बढी छ,’ २०२४ नोभेम्बरको अर्को दस्ताबेजमा उल्लेख छ ।

अनलाइन ठगीमा चुपचाप

सन् २०२२ को दस्ताबेजमा भनिएको छ, ‘मेटाले ६ जना सदस्य भएको एउटा त्यस्तो एकाउन्ट फेला पार्‍यो, जसले युद्ध मैदानमा खटिएको सेनाका रूपमा आफूलाई दाबी गरिरहेका थिए । उनीहरूले सहयोग रकम माग्दै एकै साता दसौं लाख सन्देश फेसबुक प्रयोगकर्तालाई पठाएका थिए । मेटाका प्लाटफर्ममा सेक्सटोर्सन पनि सामान्यजस्तै भइसकेको थियो । यसमा साइबर अपराधीहरूले किशोर–किशोरीलाई ललाइ–फकाइ उनीहरूको आपत्तिजनक वा गोप्य यौनजन्य तस्बिर वा भिडियो लिन्छन् र आफूले भनेको नमाने ती सामग्री सार्वजनिक गरिदिने धम्की दिन्छन् ।’

अर्को दस्ताबेजमा सामाजिक सञ्जालमा आएको अवैध विज्ञापनको बाढीलाई कम्पनीले कम्तीमा तीन वर्षसम्म वर्गीकरण वा छुट्याउनै नसकेको उल्लेख छ । त्यसबेला फेसबुक, इस्टा र ह्वाट्सएपका प्रयोगकर्तासामु ठगहरूले ‘ई–कमर्स’ र विभिन्न लगानी योजना ल्याएका थिए । अनलाइन क्यासिनो र प्रतिबन्धित औषधि उत्पादनकर्ताहरूले आक्रामक प्रचार गरेका थिए । यी सबै घटना भइरहेको देख्दादेख्दै पनि कम्पनीले त्यसविरुद्ध लड्न आवश्यक लगानी नगरेको उक्त दस्ताबेजमा उल्लेख छ ।

मेटाले यस्ता विज्ञापनलाई ‘कम गम्भीर समस्या’ वा ‘ब्याड युजर एक्सपेरियन्स’ अर्थात् त्यस्ता विज्ञापन निश्चित प्रयोगकर्ताले देख्नु उनीहरूकै दुर्भाग्य भएको रूपमा लिएको दस्ताबेजमा उल्लेख छ । प्रयोगकर्ताहरूले ठगी विज्ञापनविरुद्ध ठूलो संख्यामा रिपोर्ट गरेका भए पनि त्यसलाई मेटाले अस्वीकार गरेको २०२३ को दस्ताबेजले संकेत गर्छ । त्यस वर्ष सुरक्षा कर्मचारीको अनुमानमा फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले प्रत्येक साता १ लाख वैध रिपोर्टहरू फाइल गरिरहेका थिए । त्यसमा ठगी विज्ञापन गर्ने साइबर अपराधीले उनीहरूलाई म्यासेज पठाएको उल्लेख थियो । तर, मेटाले त्यसमध्ये झन्डै ९६ प्रतिशत उजुरीलाई खारेज गरिदियो । २०२३ को अर्को दस्ताबेजमा ‘कम्पनीले भविष्यमा कम्तीमा २५ प्रतिशत उजुरीलाई सम्बोधन गर्ने लक्ष्य राखेको’ उल्लेख छ ।

ठगीका उदाहरण

गत अक्टोबरमा रोयल क्यानेडियन एयर फोर्सकी एक सैनिकले बिहान उठ्दा आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको देखिन् । केहीबेरमै सो एकाउन्टमा उनको अनुहारसहित नक्कली कर्मचारी परिचयपत्र (ब्याज) भएको तस्बिर पोस्ट भयो । क्याप्सन थियो, ‘मैले क्रिप्टो करेन्सी प्रमाणपत्र प्राप्त गरेको सुनाउन पाउँदा अत्यन्तै खुसी छु ।’ उनले तुरुन्तै यसबारे फेसबुकलाई उजुरी गरे पनि हप्तौंसम्म कुनै प्रतिक्रिया नआएको रोयटर्सलाई बताएकी छन् ।

Reuters reveals: Meta earns $16 billion annually from illegal advertisingह्याक भएको उनको एकाउन्टबाट कैयौं दिनसम्म क्रिप्टो कारोबारले आफूलाई धनी बनाएको, घर बनाउन जग्गा किनेको दाबीसहित आफ्ना साथीहरूलाई पनि क्रिप्टोमा लगानी गर्न उक्साउने भावका स्ट्याटस आइरहे । अति भएपछि उनका सुपरभाइरजरले क्यानडाको ११ प्रान्तका विभिन्न इलाकामा प्रहरी सेवा दिँदै आएको (रोयल क्यानेडियन माउन्टेड पोलिस (आरसीएमपी) मा उजुरी दिए । उनले आफ्ना साथीभाइलाई त्यस एकाउन्टमा कुराकानी नगर्न र रिपोर्ट गरिदिन आग्रह गरिन् ।

झन्डै एक महिनापछि एक पूर्वक्यानेडियन आर्मी अफिसर माइक लाभरीले उनलाई बोलाएर भने, ‘मैले क्रिप्टोमा लगानी गरेर २८ हजार डलर गुमाएँ । त्यस्तो विश्वासिलो मित्रसँग कुराकानी गर्दै छु भन्ने ठानेर लगानी गरेको थिएँ । तर म त ठगीमा परेछु ।’ केही वर्षअघि सँगै काम गरेका लाभरीले आफूलाई विश्वास गर्दा साइबर ठगहरूको निशानामा परेको देखेर असाध्यै ग्लानि भएको उनले बताएकी छन् । लामो प्रयासपछि अन्ततः मेटाले उनको ह्याक्ड एकाउन्ट अफलाइन गरिदियो । तर, त्यसबेलासम्म अन्य चार सैनिक साथीहरू ठगीमा परिसकेको उनी बताउँछिन् ।

क्यानडाकै इडिमोन्टोन सहरका प्रहरी अनुसन्धानकर्ता ब्रायन मासनले ठगी विज्ञापनबाट ६५ हजार क्यानेडियन डलर आर्जन गरी नाइजेरिया पठाइएको पत्ता लगाए पनि सो रकम फिर्ता ल्याउन कठिन भएको अनुभव सुनाए । ‘त्यो पैसा फिर्ता पाउन कठिन वा असम्भव थियो किनभने त्यसलाई नाइजरियाको बैंक एकाउन्टमा पठाइएको थियो,’ उनी भन्छन् । मेटाले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेन ।

ठगी विज्ञापन गर्नेहरू रंगे हात समातिँदा पनि मेटाको कारबाहीमा ढिलासुस्ती हुने रहेको दस्ताबेजहरूले संकेत गर्छन् । ‘साना विज्ञापनदाताका हकमा कम्तीमा ८ पटक आर्थिक ठगीको उजुरी आएपछि मात्रै मेटाले ब्लक गर्छ,’ २०२४ को दस्ताबेजमा थप भनिएको छ, ‘ठूला विज्ञापनदाता वा हाई भ्यालु एकाउन्ट्सलाई ५ सयभन्दा धेरै पटक स्ट्राइक आएपछि मात्रै मेटाले कारबाही गर्छ ।’

-(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी गराएको छ । काठमाडौंमा हालै आयोजित ‘मिनी एमडब्लुसी २०२६’ कार्यक्रममा हुवावेले दूरसञ्चार नेटवर्कलाई थप स्थिर, प्रभावकारी र स्वचालित बनाउन एजेन्टिक कम्युनिकेसन नेटवर्क्स प्रभावकारी हुने उल्लेख गरेको थियो । कार्यक्रममा एआई र नयाँ पुस्ताको नेटवर्क प्रविधिबारे छलफल गरिएको कम्पनीले जनाएको छ । ...
। विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने सक्नेछन् । विभागका महानिर्देशक दुरपदा सापकोटाले ...
। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र ...
। राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । ‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका ...
गुगल अन्तर्गतको फिटबिटले आफ्नो अहिलेसम्मकै सानो र हलुका वेयरेबल डिभाइस ‘फिटबिट एयर’ सार्वजनिक गरेको छ। धेरै मानिसहरूलाई स्मार्टवाच भारी र जटिल लाग्ने समस्यालाई सम्बोधन गर्न यो डिभाइस डिजाइन गरिएको हो । मे ७, २०२६ मा सार्वजनिक गरिएको यो डिभाइस विशेषगरी ती प्रयोगकर्ताहरूका लागि लक्षित छ जो २४सै घण्टा बिना कुनै अवरोध आफ्नो स्वास्थ्य ट्र्याक गर्न चाहन्छन् ...