— अदालतले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरिएका फरार अभियुक्तलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई २ वर्षदेखि फरार रहेका हेटौंडा उपमहानगरपालिका–१५ का ३१ वर्षीय रियज कुमार लामालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ३ वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना तोकिएका लामा हालसम्म फरार रहेका थिए ।
फरार अभियुक्तको खोजतलास गर्ने क्रममा घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तोकिएको कैद र जरिवाना असुलीका लागि लामालाई प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरमा बुझाएको थियो । अदालतले कैद र जरिवाना असुलीका लागि उनलाई भीमफेदी कारागार पठाएको प्रहरीले जनाएको छ ।
चालु आवमा मकवानपुर प्रहरीले लामासहित २३ जना फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने उद्देश्यले गत आवमा मकवानपुर प्रहरीले १८३ जना दोषी ठहर भएका फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट एक करोड २१ लाख ७३ हजार रुपैयाँ जरिवाना र ९९ वर्ष ११ महिना २३ दिन कैद असुली गरिएको थियो ।