— सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्रृत गर्दै बीबीसीले जनाएको छ । घटनामा ५२ हजारभन्दा धेरैजना घरबारविहिन भएका छन् । त्यस्तै, झन्डै ५ लाख परिवार विद्युत अभावमा छन् ।
होइ एन र ना त्राङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हुन् । त्यस्तै सेन्ट्रल हाइल्यान्डका कफी उत्पादन हुने क्षेत्र पनि प्रभावित भएका छन् । यसअघि आँधि चलेकाले यहाँका कृषकले समयमै कफी भित्र्याउन पनि सकेका थिएनन् । सडक तथा पूर्वाधारमा क्षति पुगेपछि सरकारले विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरेर उद्धार कार्यमा टोली खटाएको छ ।
भियतनाममा पछिल्ला केही महिनायता निरन्तर प्रकोपले ठूलो क्षति निम्त्याएको छ । केही समयअघि मात्रै केही साताको अन्तरमा यहाँ दुई शक्तिशाली आँधीले विध्वंश मच्चाएका थिए ।
जनवरीदेखि अक्टुबरसम्मको अवधिमा यहाँ आएका प्रकोपले झन्डै २ अर्ब डलर बराबर क्षति भइसकेको सरकारले अनुमान लगाएको छ ।