— हत्या र यौनहिंसाका तथा सम्पति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका रामबहादुर बम्जन थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च पुगेको निवेदनमा पेशी तोकिएको छ ।
न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेशी रहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाएपछि बम्जन ७३ नम्बर निवेदन लिएर सर्वोच्च आएका हुन् । तल्लो अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा त्यस विरुद्ध माथिल्लो अदालतमा जान पाउने मुलुकी अपराध संहिताको व्यवस्थाअनुसार बम्जन सर्वोच्च आएका हुन् ।
आफूलाई तपस्वी बताउने लिलिट बुद्धको नामले समेत चर्चामा आएका उनी २४ पुस २०८०मा काठमाडौंमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।
२४ कात्तिकमा बम्जनले निवेदन दिएका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको थियो। उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए।
बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो। बम्जनविरुद्ध पाँच परिवारको उजुरी थियो। आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो।
बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए। उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए। पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए। ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो। तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए।
प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो। प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो। प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो। शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन्।
बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए। २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए। पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन्।
हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए। हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन्। तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ।