— एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् ।
नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे ।
‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका छौं । एसका कार्यकर्ताहरु महाधिवेशनमा गए भनेर सेन्टिमेन्ट भड्काउने प्रयास हुनेछ । पार्टी मजबुत गराउन सजिलो छैन,’ उनले भने, ‘घाँटी सुकुन्जेल वाम एकता भनेर कराउने देखिएको छ । हामी त्यसरी कराउँदैनौं । परेका बेला हामी जाग्छौं । नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी भनेपछि भित्र्याउँछौं ।'
वामपन्थीबाट पतन भइसकेहरुलाई वामपन्थीको नाममा ठाउँ नहुने पनि ओलीले बताए । 'काम नगर्ने अन्त, काम गर्नै एमालेमा आउने हो । मैले आह्वान गरेको छु,’ उनले भने ।