— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको छ । पश्चिमा र अन्य शक्तिशाली देशका ठूला प्रविधि कम्पनीहरूले विगत दुई दशकदेखि दक्षिण एसियाली प्रयोगकर्ताहरूलाई ‘डेटा-खानी’ का रूपमा लिँदै आएको हुनाले यसलाई चुनौती दिन यो प्लाटफर्म बनाइएको कम्पनीको दाबी छ ।
यस एपले प्रयोगकर्ताको कुनै पनि डेटा संकलन नगर्ने र सुरक्षाका लागि यसबाट तस्बिर र भिडियो डाउनलोड एवं सेयर गर्ने सुविधा नराखिएको कम्पनीले जनाएको छ । अब यस एपलाई नेपालमा समेत परिचित गराइने सफ्टाका सञ्चार अधिकृत अश्विनी कुमार निगमले काठमाडौँमा आयोजित पत्रकार भेटमा जानकारी दिए । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता प्रक्रियासमेत अघि बढेको उनको भनाइ छ । 'हामी सबै प्रक्रिया पूरा गरेर एप सार्वजनिक गर्छौँ,' उनले भने ।
जेक्टरलाई विश्वकै पहिलो ‘बाइ डिजाइन फ्रिडम प्लाटफर्म’ अर्थात कसैको अधिनमा नरहने गरी निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘जिरो बिहाभियर ट्र्याकिङ मोडल यसको मुख्य विशेषता हो, जेक्टरमा ट्र्याकिङ, प्रोफाइलिङ वा अल्गोरिदमको जालझेल हुँदैन, प्रयोगकर्ताको पूर्ण नियन्त्रणमा एप चल्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको जिरो नलेज पनि विशेष पक्ष हो । यसमा प्रयोगकर्ताको डेटा यति बलियोसँग इन्क्रिप्ट गरिएको छ कि, कम्पनी स्वयंले हेर्न वा पहिल्याउन सक्दैन ।’
जेक्टरले महिलाको डिजिटल सुरक्षालाई विशेष महत्त्व दिँदै फोटो र भिडियो डाउनलोड गर्न वा अन्य पठाउन नसकिने व्यवस्था गरेको छ । साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नग्नता पहिचान गरी हानिकारक विषय रियल टाइममै ब्लक गर्नुका साथै ठगी नियतका कन्टेन्टहरू पनि पहिलो चरणममै रोक्ने कम्पनीको दाबी छ । बिहारको औरङ्गाबादमा जन्मिएका र हाल फिनल्यान्डका नागरिक सुनीलकुमार सिंहले यस एपको परिकल्पना गरेका हुन् ।