मुख्य समाचार
नेपाली महिलालाई साउदी अरब पुर्‍याएको घटनामा संलग्न प्रतिवादीलाई प्रहरीले डेढ दशकपछि पक्राउ
नेपाली महिलालाई साउदी अरब पुर्‍याएको घटनामा संलग्न प्रतिवादीलाई प्रहरीले डेढ दशकपछि पक्राउ

: वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली महिलालाई साउदी अरब पुर्‍याएको घटनामा संलग्न प्रतिवादीलाई प्रहरीले डेढ दशकपछि पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा–६ की ५० वर्षीया बिना राई (लिम्बू) मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १५ वर्षदेखि फरार थिइन्। लामो समयदेखि कानुनी प्रक्रियाबाट टाढा बस्दै आएकी उनलाई प्रहरीले बिहीबार राति घरमै पुगेर नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी गछियाबाट खटिएको सई (प्रहरी नायव निरीक्षक) गणेश दाहाल नेतृत्वको टोलीले गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। बिनाविरुद्ध २०६७ असोज ५ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दर्ता भएको थियो। तर, जाहेरी दर्ता भएयता उनी फरार भएपछि मुद्दा वर्षौंदेखि ‘पेन्डिङ’ अवस्थामा थियो। प्रहरीका अनुसार उनी हालसम्म सुन्दरहरैँचामै लुकिछिपी बस्दै आएको पत्ता लागेको छ।


प्रारम्भिक अनुसन्धानले बिनाले वैदेशिक रोजगारी र आकर्षक आम्दानीको लोभ देखाएर एक नेपाली महिलालाई भारतको नयाँ दिल्लीको बाटो हुँदै साउदी अरब पुर्‍याएको पत्ता लागेको छ। साउदी पुगेपछि पीडित महिलाले लगातार श्रमशोषण, दुव्र्यवहार र बन्धनजस्तो अवस्था सहनु परेको विवरण दूतावासमार्फत नेपाल फर्किएपछि उजागर भएको थियो। राजदूतावासको सहयोगमा नेपाल फर्किएर पीडितले किटानी जाहेरी दर्ता गराएको थाहा पाउनासाथ बिना फरार भएकी थिइन्।


पीडितले कानुनी न्याय खोजिरहे पनि प्रतिवादी वर्षौंदेखि पक्राउ नपर्दा मुद्दा अघि बढ्न सकेको थिएन। अब भने प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। बिनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरातमा राखेर इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मुद्दा पुरानो भए पनि तथ्य संवेदनशील भएकाले अनुसन्धानलाई ‘उच्च प्राथमिकतामा’ राखिएको छ। ‘पीडितले दूतावासमार्फत फर्किएर जाहेरी दिए पनि प्रतिवादी फरार हुँदा कानुनी प्रक्रिया अघि बढेको रहेनछ,’ कटवालले भने, ‘अब उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ताको प्रक्रिया अघि बढ्छ।’

नेपालमा वैदेशिक रोजगारीका नाममा हुने प्रलोभन, ठगी र मानव बेचबिखनका घटना वर्षौंदेखि प्रमुख चुनौती मानिँदै आएका छन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार विदेश पुर्‍याएर श्रमशोषणमा धकेल्ने काम १० देखि १५ वर्षसम्म कैदयोग्य गम्भीर अपराध हो। साथै साउदी अरबमा नेपाली महिलालाई घरेलु श्रमका लागि पठाउनै नपाइने सरकारी नीति रहेकाले बिनामाथिको आरोप झनै गम्भीर रहेको प्रहरीले जनाएको छ।

लामो समयसम्म प्रतिवादी फरार रहँदा प्रमाण संकलनमा ढिलाइ हुनु, पीडितले न्याय पाउन वर्षौं कुर्नुपर्ने अवस्था सिर्जना हुनु जस्ता समस्या नेपालका धेरै मानव बेचबिखनसँग सम्बन्धित घटनामा देखिने गरेका छन्। बिनाको गिरफ्तारीसँगै १५ वर्षअघिको उजुरी पुनः सक्रिय भएर न्याय पाउने आशा पीडितले गरेकी छन्।

दूतावासले तयार पारेको जोखिम मूल्यांकन प्रतिवेदन, पीडितको बयान, श्रमशोषणको प्रमाण, अभियुक्तको भूमिका स्पष्ट पार्ने कागजात तथा प्रहरीले अनुसन्धानबाट तयार पारेको विस्तृत प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दर्ता हुने छ। त्यसपछि घटनामा बिनाको संलग्नता छ कि छैन भनेर अदालतले यकिन गर्छ। घटना पुरानो भएपनि संवेदनशीलताका कारण बाँकी प्रक्रिया छिटो अघि बढाइने एसपी कटवालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा ...
: नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो। आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन ...
: नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव ...
: सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम 'आदेश किन जारी हुनु नपर्ने हो'भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको हो। राजदूत फिर्ता बोलाउने सरकारको ...
: जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गतेसम्ममा दर्ता भएका मतदाता नामावली तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लामा १६ हजार ८ सय ७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६ सय ६९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम