: पूर्वमन्त्री एवम् एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन्। सुनसरीमा आयोजित राष्ट्रिय युवा संघको कोशी जागरणसभामा सहभागी हुन गइरहेका बेला लोला हानेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका हुन् ।
उनले विराटनगर विमानस्थलमा आफूमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताए। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने उनको भनाई छ।
उनले विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्ने धारणा राखे । ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन। प्रहरीको तत्परताप्रति धन्यवाद।’ बस्नेतले भने, ‘हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ। अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।’
बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु भएको उनको भनाई छ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउने बस्नेतको दाबी छ।
उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका - २ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्। उनीहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए। बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थी रहेको स्रोतको भनाई छ।