— एमालेको ११औं महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले ५ बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार सोमबार साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णयहरू गर्दै ५ बुँदे निर्देशन जारी गरिएको हो ।
अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।
यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।
केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा १ हजार रुपैयाँभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।
मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभर र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।