— गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीको बलिदानको जगमा निर्मित सरकारको अर्जुनदृष्टि निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको बताएका छन् ।
जतिसक्दो छिटो चुनाव पूरा गरेर नयाँ निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न लागिपरेको उनले बताए । रुपन्देहीको भैरहवामा मंगलबार सुरु लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कसैको निगाहाबाट नभई जेन–जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा गठन भएको सरकारको पहिलो अभिभारा निर्वाचन सम्पन्न गर्ने रहेको प्रस्ट्याए । ‘विभिन्न बाहना देखाएर चुनाव हुँदैन भन्नेहरुलाई काम र भूमिकाबाट जवाफ दिनेछौं,’ उनले भने, ‘हाम्रा छोराछोरीले प्रश्न उठाइसकेपछि पनि सुधार नहुने हो भने मुलुकमा अर्को दुर्घटना हुन सक्छ ।’ त्यसैले निर्वाचनका विषयमा अभिव्यक्ति दिँदा गम्भीर हुन दलका नेताहरुसित उनले अनुरोध गरे ।
निर्वाचन पूरा गराउन रहेका चुनौतीको विश्लेषण, चुनाव सम्पन्न गर्न देखिएका चुनौती चिर्न आवश्यक रणनीति र तयारी पूरा गर्न लुम्बिनी प्रदेशबाट सुरक्षा बैठक सुरु गरिएको उनले जानकारी दिए । ‘लुम्बिनीबाट बैठक सुरु गर्नुको कारण बुद्धको शान्तिको संदेश फिँजाउनु पनि हो,’ उनले भने, ‘शान्ति शु–व्यवस्था कायम गर्न र निर्वाचनको वातावरण बनाउन सरकारले सातै प्रदेशमा सुरक्षा बैंठक गर्न लागेको छ ।’ यस्ता बैठकमा सुरक्षा चुनौती विश्लेषण गरेर त्यहीअनुसार सुरक्षा संयन्त्र तयार गरिने उनले बताए ।
चुनाव सफलतापूर्वक सम्पन्न गर्न प्रदेशले पनि सुरक्षा योजना तयार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । दलहरुले जेन–जी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियारलाई ‘थ्रेट’का रुपमा प्रचार गरे पनि सरकारले त्यस्ता फरार व्यक्ति र हतियार नियन्त्रणमा क्रियाशीलता बढाएको उनको भनाइ थियो । लुम्बिनी प्रदेशमा पनि अहिलेसम्म ७८ जना फरार व्यक्ति नियन्त्रणमा लिइएको उनले बताए । ‘हतियार खोज्नका लागि सुरक्षा निकाय परिचालन गरेका छौं,’ उनले भने, ‘प्रदेश सुरक्षा बैठकबाट थप प्रभावकारी योजना तयार गरिनेछ ।’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनता अहिले पनि भयभीत अवस्थामा रहेको उल्लेख गर्दै सुरक्षाकर्मीको मनोबल बढाउन जरुरी रहेको बताए । ‘अहिले अराजक समूह राज्यका निकायलाई कमजोर तुल्याउन सक्रिय छन्,’ उनले भने, ‘ढुक्क भएर कार्य सम्पादन गर्ने अवस्था छैन ।’ सरकारको पहिलो दायित्व सुरक्षाकर्मीको मनोबल बढाउने रहेको उनले बताए । जेन–जी आन्दोलनका क्रममा फरार व्यक्तिले छाती फुलाएर हिँड्ने अवस्था रहेसम्म सुरक्षा प्रत्याभूति नहुने उनको भनाइ थियो ।