मुख्य समाचार
नेपाली कांग्रेसको करिब दुई महिनादेखि बस्दै आएको केन्द्रीय समिति बैठकले १५औं महाधिवेशनको मिति तय
नेपाली कांग्रेसको करिब दुई महिनादेखि बस्दै आएको केन्द्रीय समिति बैठकले १५औं महाधिवेशनको मिति तय

: नेपाली कांग्रेसको करिब दुई महिनादेखि बस्दै आएको केन्द्रीय समिति बैठकले १५औं महाधिवेशनको मिति तय गरेको छ। आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएसँगै डेढ महिनादेखि जारी कांग्रेस बैठकको गतिरोधले तत्काललाई निकास पाएको छ।

गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सुरु भएको महाधिवेशनको विषयले अहिले आएर निकास पाएको हो। जेन–जी आन्दोलनपछि पार्टीभित्रै शीर्ष नेतृत्वले पार्टीको सक्रिय राजनीतिबाट वि श्राम लिनुपर्छ भन्ने चर्को दबाब थियो। मुख्य तया यसको नेतृत्वद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरेका थिए।


कांग्रेसभित्र २१ फागुनमा घोषणा भएको निर्वाचन अगाडि नै महाधिवेशन गरेर नेतृत्व र नीति बदल्ने अभियानमा मत बढ्दै गयो। पार्टीका साथीहरूको दबाब बुझेरै सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी दिए। दैनिक कार्यभारको जिम्मेबारीबाट बाहिर बस्न चाहे। यद्यपि १५ औं महाधिवेशनको ढोका पनि उनै सभापति देउवाले नै खोलिदिएका छन्। निकासको ढोका खोलेसँगै सोमबारको निर्णयले सभापति देउवालाई पुनः बलियो बनाएको संकेत पनि देखिन्छ।




बैठकको निर्णयमा ‘१५औं महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति र कार्यवाहक सभापतिले खटाउन सक्ने छन्’ रहेको छ। अर्को बुँदामा उल्लेख छ, ‘केन्द्रीय सभापति र कार्यवाहक सभापतिले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ बाट सहमति भई प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने छ।’

कांग्रेसको निर्णयमा १५औं महाधिवेशनका लागि आवश्यक पर्ने समितिहरू गठन गर्दा आवश्यक परामर्श सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने उल्लेख गर्दै देउवा फेरि एक पटक सक्रियताको संकेत दिएका छन्। कांग्रेसमा देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको ४ वर्षको कार्यकाल ०८२ मंसिरमा सकिँदै थियो। कार्यकाल सकिए पनि विधानअनुसार १ वर्ष थप्न मिल्ने अवस्था भए तापनि महामन्त्रीहरूले कार्यकाल नलम्ब्याई सकेसम्म नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिए।
अन्ततः उक्त अडान पनि नियमित अधिवेशनलाई दबाब दिनकै लागि थियो। महामन्त्री गगन थापा भन्छन्, ‘महाधिवेशन निर्वाचन अघि हुनुपर्छ भन्ने कुरा हो। विशेष यथावत् रहन्छ। भोलि किन्तु परन्तु भन्ने ठाउँ हुन्न।’

देउवा निकटकै एक नेता भन्छन्, ‘असोज २९ गते दोस्रो दिनको कांग्रेस बैठकमा नै ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन पार्टी कार्यालयमा दर्ता भएपछि महाधिवेशनको सुरुसम्म भए पनि निर्वाचन अघि नै गर्नुपर्छ भन्ने माहोल बनेको हो। सभापतिजी कार्यबाहकको जिम्मेवारी दिँदै मानसिक रूपमा तयार हुनुहुन्थ्यो। पार्टीका अरू नेताहरूले नमानेका कारण समस्या थियो।’

देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय केन्द्रीय समितिले गरेको छ। बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।

सभापति देउवा सिंगापुरबाट कात्तिक २८ मा फर्किएपछि बैठकमा महाधिवेशनको विषय लिएर अझै चर्काचर्की भयो। यी सबै दृश्य नियालिरहेका देउवा निकास दिन जुटे। उनलाई अर्का नेता शेखर कोइरालाको मौन सहमति थियो। अर्को तिर विशेष गर्ने भन्ने समूहको चर्को दबाब पनि यथावत् नै थियो। यसै पनि बैठकमा बहुमत थियो। यद्यपि सबै पक्षको सहमति जुटाएर मात्र महाधिवेशनमा जाने भनेपछि महामन्त्रीद्वयसँग पनि राय बुझ्न उनी बसे।

देउवा सँगसँगै थिए कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखक। अर्कोतिर पाँचपटक प्रधानमन्त्री र दुई पटक नेपाली कांग्रेसको सभापति भइसकेका देउवाले पनि सम्मानजनक बर्हिगमन चाहिरहेकाले उनी विशेष महाधिवेशन होस् भन्ने पक्षमा थिएनन्। देउवा निर्वाचन अगाडि नियमित नगरेमा विशेष महाधिवेशन टार्न नसकिने निचोडमा पुगे।

सोहीअनुसार उनले पछिल्लो साता संस्थापन र इतरलगायत सबै पक्षका नेतासँग लगातार भेटिरहेका थिए। विशेषमा पार्टी गयो भने बिखण्डन हुन्छ भन्ने विषयमा उनको अडान थियो। सोहीअनुसार उनले मध्यमार्गी चित्र कोरे र निर्वाचन अगाडि महाधिवेशनको मिति प्रस्ताव गर्न लगाए।

सोही मिति सोमबारको बैठकमा कार्यबाहक सभापति खड्काले सार्वजनिक गरे र बैठकले सर्वसम्मत पारित गरेको छ। खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गरेका छन्।

यसै सन्दर्भमा विशेषको मुद्दा कसरी सम्बोधन हुन्छ त भन्ने प्रश्नमा नियमित महाधिवेशनको प्रक्रिया सुरु भएपछि विशेषको औचित्य नहुने प्रवक्ता प्रकाशशरण महत बताउँछन्।

उनले भने, ‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन। मूल कुरो अधिवेशन समयमा हुनुप‍र्‍यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि। महाधिवेशनको कार्यतालिका आइसकेको छ। कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन। विशेष त स्वतः निष्क्रिय हुन्छ। विशेष महाधिवेशन केका लागि, कसरी गर्ने भन्ने अन्योलमा छ। अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन।’

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने चेतावनी दिँदै भने, ‘नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउँछ। अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित छ
भन्ने हेक्का होस्।’

शर्माले अगाडि भने, ‘सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न हुँदैन। अब पार्टीका साथीहरू नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्छ। संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सवै तहमा नेतृत्व लिन तयार
भएर बस्नुहोस् ।’

यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका
– मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने
– जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म।
– पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने।
– क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते।
– नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता र अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था।
– विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५।
– गाउँ नगर र वडा अधिवेशन पुस १६ गते।
– गाउँ नगरपालिका अधिवेशन पुस १७ गते।
– प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते।
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते।
– एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते।
– प्रदेश अधिवेशन २३ र २४ गते।
महाधिवेशन पुस २६, २७ र २८ गते।
महाधिवेशनका लागि ३ समिति गठन
महाधिवेशनका लागि कांग्रेसले ३ वटा समिति गठन गर्ने निर्णय गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए।
समितिहरू
१. विधान मस्यौदा समिति
२. क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति
३. केन्द्रीय निर्वाचन समितिलाई पूर्णता
दिने समिति
कांग्रेसले विधान मस्यौदा र क्रियाशील छानबिन समितिले सहमतिकै आधारमा निर्णय गर्ने जनाएको छ। त्यस्तै यी समितिहरू गठनको काम आवश्यक परामर्श गरी सभापति र कार्यवाहक सभापतिले गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
: भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज अन्तरिम आदेशबारे निर्णय नआउने भएको छ। रिटमाथि बहस बाँकी रहेकाले 'हेर्दाहेर्दै'मा राखिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश सुनाउन आज मिति तोकेको थियो। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका ...
: स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रुपैयाँसहित भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा ...
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन्। पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताए। प्रचण्डले एमाले र कांग्रेसका 'दुई तिहाइ'बाट जनताले के हासिल ...
: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मायादेवी गाउँपालिका कपिलवस्तुमा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल,प्रमेश्वर यादव,कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ४६ लाख ७ हजार ३०० रुपैयाँ बिगो माग ...