मुख्य समाचार
कामबाट निकालेको रिसमा उद्योगका प्रबन्धकको हत्या, दुईजना पक्राउ
कामबाट निकालेको रिसमा उद्योगका प्रबन्धकको हत्या, दुईजना पक्राउ

सिमराः बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन्।

सिंहको हत्या गरेर फरार भएका उनीहरूलाई प्रहरीले घटना भएको १८ घण्टामै नियन्त्रणमा लिएको थियो। भारतीय सीमा क्षेत्रबाट मंसिर १२ गते राति नै पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट आइतबार ७ दिन हिरासतमा राख्ने अनुमति लिएपछि प्रहरीले सार्वजनिक गरेको हो।


उनीहरुले मंसिर ११ गते राति पानी उद्योगका प्रबन्धक सर्लाही धनकौल गाउँपालिका-२ का ५० वर्षीय सिंहलाई धारिलो हतियारले रेटेर हत्या गरेका थिए। हत्यापछि उनीहरुले सिंहको शवलाई उद्योग भन्दा करिब २५ मिटर उत्तरतर्फको झाडीमा लुकाएर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा उद्योगमा चालकको रुपमा कार्यरत रामको संलग्नता हुनसक्ने देखेपछि प्रहरीले राम केन्द्रित अनुसन्धान अघि बढाएको थियो।

राम उक्त उद्योगमा चालकको रुपमा कार्यरत थिए। आचरण राम्रो नभएको भन्दै प्रबन्धक सिंहले उनलाई मंसिर १० गते कामबाट हटाएका थिए भने मंसिर ११ गते काम गरेवापतको ज्याला दिई पठाएका थिए। उद्योगबाट उत्पादित पानी व्यक्तिगत मुनाफाका लागि बजारमा बढी मूल्यमा बिक्री गर्ने गरेको थाहा पाएपछि प्रबन्धक सिंहले रामलाई हटाएको प्रहरीको भनाइ छ।

सिंह र रामबीच अघिल्लो वर्षको मंसिर महिनामा समेत वादविवाद भएको थियो। वादविवादपछि उद्योग छोडेर गएका राम कात्तिक १ गतेदेखि पुनः चालकका रुपमा काम गर्दै आएका थिए। प्रबन्धक सिंह र चालक रामबीचको सम्बन्ध राम्रो थिएन। पछिल्लो पटक कात्तिक १० गते कामबाट हटाएपछि रामले सिंहको हत्या गर्ने योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिंहले वीरगन्जस्थित एक होटलमा प्रमोद साह तुरहासँग मदिरा सेवन गर्दै हत्याको योजना बुनेका थिए।

योजनाअनुसार वीरगन्जबाट राति करिब १० बजे उद्योगमा आएका उनीहरुले सिंहमाथि धारिलो हतियार र इँट्टा प्रहार गरेर हत्या गरेका हुन्। सो क्रममा उनीहरुले उद्योग भित्रको सीसीटीभी क्यामरा समेत फुटाएका थिए। घटनालगत्तै प्रहरी उपरीक्षक नरेन्द्र कुवँर र अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धाका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो।

पक्राउ परेका रामले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन्। रामले आफूलाई कामबाट हटाएको आक्रोशमा सिंहको हत्या गरेको प्रारम्भिक बयान प्रहरीलाई दिए। तुरहा र आफू मिलेर सिंहको हत्या गरेको बयान रामले दिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज भएको छ। बाराका निमित्त प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी खेमप्रसाद नेपालले हत्यामा प्रयोग गरिएका धारिलो हतियार समेत बरामद भएको जानकारी दिए। उनीहरुविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालिएको नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो। मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
: भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज अन्तरिम आदेशबारे निर्णय नआउने भएको छ। रिटमाथि बहस बाँकी रहेकाले 'हेर्दाहेर्दै'मा राखिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश सुनाउन आज मिति तोकेको थियो। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका ...
: स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रुपैयाँसहित भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा ...
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन्। पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताए। प्रचण्डले एमाले र कांग्रेसका 'दुई तिहाइ'बाट जनताले के हासिल ...
: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मायादेवी गाउँपालिका कपिलवस्तुमा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल,प्रमेश्वर यादव,कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ४६ लाख ७ हजार ३०० रुपैयाँ बिगो माग ...