मुख्य समाचार
सडकको काम ५० प्रतिशत सकिँदा बल्ल पुलको पुनः डिजाइन
सडकको काम ५० प्रतिशत सकिँदा बल्ल पुलको पुनः डिजाइन

— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन ।


सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । तीनवटा पुलको भने छुटै ठेक्का गरिएको हो । जसको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएका हुन् । हिमदुङ एन्ड थोकर कम्पनी कांग्रेस नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको हो । तर, उनकै कम्पनीले लिएको ठेक्कामा प्रगति न्यून छ ।

तीनवटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विवेक पाण्डेले बताए । ‘यसको ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो,’ उनले भने, ‘त्यसैले यसको डिजाइन पनि निर्माण व्यवसायीबाटै हुने र काम पनि उसैले गर्ने हो ।’ जसको ठेक्का सम्झौता २०७९ चैत ६ गत्ते भएको हो । सम्झौताअनुसार काम २०८२ असोज ५ भित्र सकिसक्नुपर्ने हो । अहिलेसम्म डिजाइन नै टुंगो नलाग्दा कामले गति लिन सकेको छैन । भ्याटसहित तीनवटा पुलको ५७ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सुरु सम्झौता अनुसार काम नसकिएपछि अहिले एक वर्ष म्याद थप गरिएको छ ।

ससाना पुल भएकाले निर्माण व्यवसायीले तदरुकताका साथ काम गरेर थपिएको समय भित्र सकिने आयोजनाको भनाइ छ । यो सडक भएर दैनिक १० हजार बढी सानाठूला सवारीसाधन ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको भनाइ छ । तर यही सडकमा पुल निर्माणको काममा भने प्रगति छैन । ढिलाइ हुनुमा आयोजनाले निर्माण व्यवसायी र निर्माण व्यवसायीले आयोजनालाई दोष देखाउँदै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले यो सडकको अनुगमन मात्रै दुई पटक गरिसकेका छन् ।

उनले पुल निर्माणमा भएको ढिलाइबारे चासो दिँदै आयोजना प्रमुख, सडक विभागका महानिर्देशक, ठेक्का लिने निर्माण व्यवसायीसँग बसेर छलफल गरी छिटो निर्माण सक्न निर्देशन दिएका छन् । उक्त सडकअन्तर्गत एउटा पुल भक्तपुर र दुईवटा काभ्रे खण्डमा पर्छन् । आयोजनाका अनुसार जगाती पुल भक्तपुरमा, पुण्यमाता र महादेव खोला पुल काभ्रेमा पर्छ ।

जगातीमा स्थानीयको कुरा सिधा पुल बनाउनुपर्ने भन्ने थियो, खोला छड्के भएकाले भएर त्यहीअनुसार डिजाइन गरिएको थियो । जसले गर्दा स्थानीयले विरोध गरेर सुरुको डिजाइनअनुसार काम गर्न नदिएको आयोजनाको भनाइ छ । ‘जगाती पुलको सुरु डिजाइनमा समस्या भएपछि पुनः निर्माण व्यवसायीले डिजाइन गरिरहेका छन्, छिट्टै सडक विभागमा पेस गरेर स्वीकृत गराइनेछ,’ इन्जिनियर पाण्डेले भने, ‘पुण्यमाता खोला पुलमा स्थानीयबाट पहिलाको डिजाइनमा पुलको उचाइ धेरै भयो भन्ने भयो, पछि उचाइ घटाउन भनेपछि पुनः डिजाइन गरेर सडक विभागमा पेस गरिएको छ ।’

महादेव खोला पुलमा काम भइरहेको र यसको प्रगति १० प्रतिशत मात्र छ । ‘पुण्यमाताको डिजाइन अबको ८/९ दिनभित्र स्वीकृत हुने र जगाती पुलको एक साताभित्र निर्माण व्यवसायीबाट डिजाइन पेस गर्ने कुरा भएको छ,’ उनले भने ।


सडक विभागबाट डिजाइन स्वीकृत भएर आउन ढिलाइ गर्दा समयमै काम गर्न नपाएको पुलको ठेक्का लिने कम्पनीमध्ये एक हिमदुङ एन्ड थोकरका निर्देशक निर्मल सिटौलाले बताए । ‘यो डिजाइन एन्ड बिल्डको ठेक्का हो, हामीले डिजाइन गरेर पेस गरेपछि सडक विभागले स्वीकृत गर्ने हो, ६ महिनाभित्र डिटेल डिजाइन पेस गर्ने र त्यसपछि तीन महिनाभित्र डिजाइन स्वीकृत गरिसक्नुपर्छ,’ उनले भने, ‘तर ३० महिनाको आयोजनामा १८ महिना त डिजाइन स्वीकृत गराउनै लाग्यो ।’ सुरुमा आयोजना र सडक विभागबाट डिजाइन स्वीकृत गर्न एकदमै ढिलाइ गरे पनि अहिले कुलमान घिसिङ मन्त्री भएर आएपछि चासो दिन थालिएको उनको भनाइ छ ।

‘गत कात्तिकमा आएर जगाती खोला पुलमा स्थानीयले समस्या गरेपछि पुनःडिजाइन गर्न लगाइयो,’ उनले भने, ‘सुरुमै छिटो डिजाइन हेरेर काम गर्न दिएको भए हुने, अहिले मन्त्री आएर किन ढिला गरेको भनेपछि आयोजनाले चासो दिएको हो, बल्ल विभागले पनि राम्रोसँग हेर्न थालेको हो ।’

Suryabinayak-Dhulikhel road expansion: Bridge redesign finally underway after road work is 50 percent complete

पुण्यमाता खोला पुलको डिजाइन एक हप्ताभित्र सडक विभागबाट स्वीकृत भएर आए काम थाल्न समस्या नभएको उनको भनाइ छ । ‘मन्त्रीले कामलाई अगाडि बढाउन चासो दिनुभएको र आइपर्ने समस्या समाधान गरिदिए पुल बनाउन कुनै समस्या छैन,’ उनले भने ।

स्थानीयको अवरोध, डिजाइन परिवर्तन र निर्माण व्यवसायीका कारण पुल निर्माणमा ढिलाइ भएको सूर्यविनायक–धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोले बताए । ‘पुण्यमाताको सुरुको डिजाइनअनुसार काम गर्न दिन स्थानीयले मानेनन्, पछि फेरि डिजाइन गर्नुपर्‍यो, त्यसमा त्यही भएर ढिलाइ भयो,’ उनले भने, ‘जगातीमा नजिकै चारवटा वडा कार्यालय पर्ने रैछन्, सुरुको डिजाइन अनुसार ती वडा कार्यालयबाट काम गराउन दिइएन, वडाबाट सहमति ल्याएर फेरि डिजाइन स्वीकृतका लागि पठाइएको छ ।’ स्थानीयलाई देखाएर पनि निर्माण व्यवसायीले काममा ढिलाइ गरेको उनको भनाइ छ ।

सडक विस्तारको काम पनि सुस्त छ । सुरु म्याद सकिन लाग्दा समग्र निर्माण प्रगति ५० प्रतिशत मात्र छ । यसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ ।

पहिलो खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दुरी ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ४२ प्रतिशत र म्याद आगामी पुस २७ सम्म मात्र छ । म्याद सकिन लाग्दा यस खण्डको प्रगति ५० प्रतिशत पनि कट्न सकेको छैन । बल्ल कालोपत्र गर्ने सुरसार हुँदै छ ।

अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दुरी ८.३ किमि छ । धुलिखेलमा दुई किमि सडक कालोपत्र भइसकेको छ । लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । निर्माण प्रगति ५५ प्रतिशत रहेको यस खण्डको म्याद भने आगामी मंसिर २७ गते सकिदै छ । उक्त सडक निर्माण भएको २५ वर्षपछि चार लेनमा विस्तार थालिएको हो ।

‘दुवै खण्डको म्याद सकिँदै छ,’ आयोजना प्रमुख महतोले भने, ‘निर्माण व्यवसायीले ५ सय दिन समय थपको माग गरेका छन्, त्यति धेरै समय दिन सकिँदैन, कति समय थप्ने भन्ने कुरा छलफलकै क्रममा छ ।’ निर्माण व्यवसायीले चालु आर्थिक वर्षमा ससाना काम मात्र बाँकी रहे पनि कालोपत्रको काम सक्ने कार्यतालिका दिएकाले त्यहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनले सुनाए । ‘चालु आवका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको छ,’ उनले भने, ‘हामीलाई करिब ४ अर्ब रुपैयाँ चाहिन्छ, यसका लागि भौतिकमार्फत अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमश:संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ...
— बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा ...
— निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ । नेपाल प्रहरीमातहत भर्ना गरिने यस्तो जनशक्तिलाई विगतमा ‘म्यादी प्रहरी’ भनिने गरिएको थियो । गृह मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको जनशक्तिलाई निर्वाचन प्रहरीको पहिचान दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी गराएका छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले तीमध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको बताए । कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि ...
— डेढ महिनाको रस्साकसीपछि कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तालिका सार्वजनिक भएसँगै पार्टीभित्रका सम्भावित समीकरणको अड्कलबाजी र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाका पोस्टरहरू सामाजिक सञ्जालमा छाउन थालेका हुन् । ...