मुख्य समाचार
एआई चिप्समा एनभिडियाको वर्चस्व तोड्ने प्रयासमा प्रविधि कम्पनी
एआई चिप्समा एनभिडियाको वर्चस्व तोड्ने प्रयासमा प्रविधि कम्पनी

— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ ।

यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेटाले गुगल क्लाउडमा प्रयोग गरिँदै आएको विशेष चिप भाडामा लिने विषयमा पनि छलफल गरिरहेको छ । आगामी वर्षको सुरुमै मेटाले गुगलसँग चिप किन्नुका साथै भाडामा लिएर प्रयोग गर्ने योजना बनाएको बुझिन्छ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कार्यका लागि बनाएको टेन्सर प्रोसेसिङ युनिट्स (टीपीयू) को चौथो भर्सन मेटाले खरिद गर्न लागेको हो । गुगलले पनि पहिलो पटक आफ्नो चिप बिक्री गर्ने विषयमा छलफल गरेको र यो निकै ठूलो कुरा भएको ‘द इन्फरमेसन’ पोर्टलको समाचारमा उल्लेख छ ।

हालसम्म गुगलले आफ्नै डेटा सेन्टरहरूमा मात्रै टीपीयू प्रयोग गर्दै आएको थियो । अब यो चिप अरू कम्पनीहरूलाई पनि बेच्न सुरु गर्दा यसले गुगलको चिप बजार आकार बढाउने र गुगल अब सिधै एनभिडियाजस्ता कम्पनीसँग प्रतिस्पर्धामा आउन लागेको विश्लेषण भइरहेको छ । यसले गर्दा अर्बौं डलरको एआई बजारमा एनभिडियाको हिस्सा प्रभावित हुने अनुमान गरिएको छ । रोयटर्सका अनुसार गुगल क्लाउडका कतिपय कर्मचारीले गुगलको यस रणनीतिपछि एनभिडियाको वार्षिक आम्दानीको १० प्रतिशत हिस्सा कटौती हुने दाबी गरेका छन् ।

मेटाले भने चिपका सन्दर्भमा दोहोरो रणनीति अवलम्बन गरिरहेको छ । एकातिर उसले गुगलसँग साझेदारी गर्न खोजिरहेको छ भने अर्कातिर आफ्नै छुट्टै चिप बनाउन पनि प्रयासरत देखिन्छ । द बिजनेस स्ट्यान्डर्डको विश्लेषणअनुसार मेटाले ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) मा एनभिडियासँगको निर्भरता कम गर्न र एआईमा एनभिडियाको वर्चस्व तोड्न चाहेको छ । मेटाले गुगलसँग टीपीयू किनेर आफ्नो ग्राफिक्सलगायत पूर्वाधारलाई विविधीकरण गर्ने हो भने वार्षिक ४ देखि ७ अर्ब डलर बचाउन सक्ने विज्ञहरूको अनुमान छ ।

एआई चिप निर्माणमा अग्रणी एनभिडियालाई गुगलको बजार प्रवेश र गुगल–मेटाबीचको साझेदारीले सुरुवाती चरणमै धक्का दिएको छ । मंगलबार यस विषयमा समाचार बाहिरिएपछि एनभिडियाको सेयर मूल्य ३.२ प्रतिशतले घटेको थियो । अल्फाबेटको सेयर मूल्य भने ४ प्रतिशतले बढेर कम्पनीको बजार मूल्यांकन नै ४ ट्रिलियन डलर पुग्न लागेको छ । हालसम्म ४ ट्रिलियन मार्केट क्याप छुने एक मात्र कम्पनी एनभिडिया हो । माइक्रोसफ्ट र एप्पल पनि ४ ट्रिलियनको दौडमा नजिक पुगेका छन् । चिप निर्माताहरूका लागि मेटा भने ठूलो ग्राहक हो, मेटाले यस वर्ष मात्रै चिप खरिदका लागि ७२ अर्ब डलर छुट्याएको छ ।

चिप उत्पादन क्षेत्रमा एनभिडियाको प्रभुत्व तोड्न गुगललाई सहज भने नभएको रोयटर्समा आदित्य सोनी र राजवीरसिंह प्रदेशीको विश्लेषण छ । ‘गुगलले एनभिडियाको बजार प्रभुत्व कम गर्ने हो भने कम्पनीले दुई दशक लगाएर बजारमा स्थापित गरेको सञ्जाललाई प्रतिस्थापन गर्नुपर्नेछ जुन निकै कठिन छ,’ उनीहरूले लेखेका छन्, ‘विश्वका ४० लाखभन्दा धेरै डेभलपरहरूले एआई र अन्य एप्लिकेसन बनाउन एनभिडियाको कुडा सफ्टवेयर प्लाटफर्म प्रयोग गर्दै आएका छन् ।’


एआई चिप बजारमा गुगलको प्रवेश, एआई बबल ब्रस्ट हुने हल्लाजस्ता प्रतिकूल समयमा एनभिडियाको सेयर मूल्य तलमाथि भए पनि अझै महँगो छ । यसको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ४२ छ । यसको अर्थ कम्पनीले कमाउने १ डलरका लागि सेयरधनीहरू ४२ डलर तिर्न तयार छन् । एआईमा हुने खर्च बढ्दै जाँदा एनभिडियाले आफ्नो आम्दानी तीव्र वृद्धि गर्दै र असाधारण मुनाफा कायम राख्न सक्यो भने यो मूल्य ठीकै मान्न सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

–एजेन्सीको सहयोग

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...
कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्‍याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर विवादमा तानिएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा यसको विरुद्धमा कैयौं मुद्दा दायर भएका छन्। ती मुद्दामा च्याट जिपिटीलाई मानसिक रूपले कमजोर व्यक्तिलाई आत्महत्या गर्न उक्साउने आत्महत्या प्रशिक्षकको ...